नेपालमा फेरी भेटिए कोरोना संक्रमित

प्रकाशित मिति : २० चैत्र २०७६ बिहीबार

काठमाडौं ।

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ । आज नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको बताउनुभएको हो ।
उहाले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको बताउनुभयो ।
देवकोटाले भन्नुभयो, “चैत ४ गते दोहाबाट काठमाण्डू आएको क्यूआर ६५२ उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो । पहिलानै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो । ““कोभिड १९ पोजिटिभ देखिपछि गर्ने कार्यहरू चिकित्सक र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ । यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।“
अधिकारीहरूका अनुसार यसअघि नेपालमा देखिएका कोभिड १९ सङ्क्रमणका पाँचैवटा घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका छन् ।
नेपालमा हालसम्म १ हजार १ सय ८४ जनामा कोभिड १९ को परीक्षण गरिएको छ । त्यसमध्ये १ हजार १ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र अधिकारीहरूका अनुसार उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत कतार एअरवेजबाटै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा देखिएको थियो ।
उनीसँग जहाजमा यात्रा गरेका सबै १५८ जना नेपालीको खोजी कार्य अघि बढाइएको अधिकारीहरूले बताएका थिए ।
तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष थिए भने चौथो व्यक्ति २० मार्चमा यूकेबाट दुबई हुँदै दिल्लीबाट विस्तारा एअर चढेर नेपाल आएको बताइएको थियो ।
उनको धनगढीमा उपचार भइरहेको अधिकारीहरूले बताएका थिए । सङ्क्रमण देखिएकी पाँचौ नेपाली महिला बेल्जियमबाट कतार हुँदै आएकी महिला थिइन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लोसहित क्यूआर ६५२ जहाजमा आएका तीन जनामा सङ्क्रमण देखिएको बिहीवारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation