साझा पार्टीको आग्रह– सेनालाई ढाल नबनाऊ

काठमाडौं

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न सेनालाई ढाल नबनाउन आग्रह गरेको छ ।

साझा पार्टीले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै नेपाल सरकारले कोरोना संक्रमणविरूद्धको लडाईंमा स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु इतिहासकै शक्तिशाली भनिएको सरकारका लागि विफलता र लज्जाको विषय भएको टिप्पणी गरेको छ ।

“राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र अकर्मण्यताले गर्दा राज्यका धेरैजसो अङ्गले जनताको नजरमा विश्वसनियता गुमाउँदै गएका छन् । त्यति हुँदाहुँदै आम नागरिकले शंकाको लाभ दिनुका साथै सरकारलाई यस घढीमा सहयोग गर्दै आएका थिए । तैपनि आफ्नो जिम्मेवारी पुरा गर्न सरकार पूर्णरूपमा विफल भएपछि सेना गुहार्नु राम्रो संकेत होइन,” साझाले विज्ञप्तिमा भनेको छ ।

उसले दोष सेनाको नभएको बताएको छ । संकटको घढीमा सरकारको आदेश पालना गर्नु उसको कर्तव्य भएको जिकिर गरेको छ । “दोष शक्तिशाली तर अकर्मण्य सरकारकै हो । तुलनात्मक विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्न सकेका राज्यका थोरै अङ्गमध्ये नेपाली सेना पर्छ । राज्य दोहन र भ्रष्टाचारमा लिप्त सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने सरकारको कदम आपत्तिजनक छ,” उनले भनेको छ ।

२०६९ सालमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि त्यतिबेलाको राजनीतिक नेतृत्वले सरकारको नेतृत्व नै तात्कालीन प्रधान न्यायाधीशलाई सुम्पिएको स्मरण गराउँदै साझाले अहिले बढ्दोरूपमा राज्य असफल हुँदै गएको देखिएको चित्रण गरेको छ । “संकट गहिरिँदै र सरकार झन कमजोर अनि अलोकप्रिय हुँदै जाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस्,” साझाले ध्यानकर्षण गराएको छ ।

नेपाली सेनालाई ढाल बनाउने होइन, समस्याको राजनीतिक समाधान खोज्नु पनि सरकार समक्ष आग्रह गरेको छ । “अहिलेको यो विषम परिस्थितिबाट पार पाउन  साझा पार्टीले गरेको पूर्ववत् माग, प्रमुख दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्र र विज्ञ समूहको निर्माणमाथि हामी पुनः जोड दिन चाहन्छौँ,” पार्टीका संयोजक मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation