लकडाउनले काठमाडौंमा खान पुगेन, हिँडेरै गाउँ पुग्छौँ

काठमाडौं । बर्दियाका अनिस थारु काठमाडौंमा लकडाउन सुरु भएपछि घर जान दैनिक कलंकी पुग्थे ।  दिनभर कलंकी बस्ने र गाडी नपाएपछि कोठामा फर्किने उनको दैनिकी थियो ।

बर्दियाको भुरीगाउँका ति युवक अनिस थारु काठमाडौंमा घर निर्माणको काममा मजदुरी गर्दै आएका छन् । उनीसँग अरु ३४ जनाको समूह बर्दिया जान दैनिक कलंकी पुग्ने गरेको भए पनि बुधबारसम्म गाडी पाउन सकेका थिएनन् । लकडाउनले खान–बस्न अप्ठ्यारो भए पछि उनीहरु घर जाने आशामा हरेक बेलुकी सडक छेउ पुग्छन् । गाडी नपाएपछि राति घर फर्किनु उनीहरूको दैनिकी बनेको छ । 

“बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्छौं । ठेकेदारहरु घर गइसके । हामीसँग पैसा पनि छैन । गाडी पायो भने घर गएर पैसा दिन्छौं भनेर जाने हो । नत्र डेरामा फर्किन्छौं । एक हप्तादेखि आइरहेका छौँ । गाडीनै पाईँदैन,” अनिसको दुःखेसो थियो । ठमाडौंमा सामान ल्याएर फर्किने मालवाहक सवारी साधनमा महंगो भाडा तिरेर गाउँ फर्किनेको लर्को अहिले पनि उस्तै छ ।

मालवाहक सवारी नपाए हिँडेरै पनि कतिपय घर फर्किरहेका छन् ।  बेलुका भएपछि काठमाडौंका नाकाबाट बाहिरिनेको लर्को देखिन्छ । कलंकीबाट मात्रै होइन भक्तपुर, काभ्रे हुँदै पूर्वतिर हिँडेर जानहरुको लर्को पनि उस्तै देखिन्छ ।“काठमाडौंमा बस्दा खान र बस्न समस्या भयो,” भक्तपुर हुँदै काभ्रेतिर लागेका एक युवकको जवाफ थियो, “यहाँ बस्ने र खाने अवस्था नभएपछि हिँडेरै घर जान लागेका हौं । ४, ५ दिनमा त कसो नपुगिएला र !”सिन्धुलीका विमल मगर पनि गाडीमा सहायकको काम गर्दै थिए । उनलाई पनि गाडी धनीले राख्न नसक्ने भनेपछि हिँडेरै घर जाँदै थिए ।

“म पनि दुई दिनमा त घर पुग्छु होला,” उनले भने, “गाडीमा सहायकको काम गर्दै थिएँ । कोठामा चामल पनि भएन । खान समस्या परेपछि हिँडेरै घर जान लागेको हो ।”

बाह्रखरीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation