सर्वदलीय संयन्त्र गठनका विषयमा नेकपा शीर्ष नेताहरु असहमत

काठमाडौं-

विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वदलीय संयन्त्रको चर्चा चलिरहँदा सत्तारुढ दलका शीर्ष नेताहरु भने असहमत रहेका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले चार दिनअघि बसेको पार्टी सचिवालय बैठकमा यसबारे कुरा उठाउँदा अन्य नेतहरुले असहमति प्रकट गरेका हुन्। दुई तिहाइ नजिक बहुमत प्राप्त रहेको दललाई असफल बनाउने गरी आएको प्रस्ताव पार्टीलाई मान्य नहुने भन्दै शीर्ष नेताहरुले अस्वीकार गरेका थिए।

साझा पार्टी लगायतका नेताहरुले नेकपाका अध्यक्ष दाहालले सरकार पार्टीको विरोध भएकाले सर्वसलीय संयन्त्र बनाएर जाँदा हुन्छ कि भन्ने कुरा उठान गर्दा पार्टीका नेताहरुले यो विषयमा कुनै छलफल नै गर्न आवश्यक नठानेको स्रोतले जनाएको छ। ‘कोरोनाविरुद्धको लडाईमा विपक्षी नेपाली कांग्रेस लगायतका सबै दलको सहयोग सरकारलाई रहेका बेला सरकारले राम्रो काम गरेर देखाउने हो सर्वदलीय संयन्त्र आवश्यक छैन यसले पार्टी र सरकार दुवैलाई असफलतातिर धकेन्छ’, नेकपा सचिवालयका एक सदस्यले भने। तीन तहको सरकार रहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र के का लागि यो त पार्टीले ल्याएको बहुमतलाई ललकारेर लोकतन्त्र कमजोर बनाउने अस्त्र मात्रै भएको ती सदस्यको धारणा छ।

फेरि तीन दिनअघि बसेको नेकपाको सचिवालय बैठकमा उच्चस्तरीय सचिवालय बैठका यो विषयले प्रवेश पाएको भएपनि सचिवायका अन्य सदस्यहरुले छलफलनै गर्न नचाहेपछि प्रधानमन्त्री केपी ओली पनि मौन बसेका थिए। सो बैठकमा सरकारको उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका ईश्वर पोखरेलले आफ्नो अध्यक्षतामा सर्वदलीय बैठक बसेको बताउदै सबै दलहरुको साथ र सहयोग रहेको जानकारी गराएका थिए।

स्रोतका अनुसार नेकपाका शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, सर्वदलीय संयन्त्रको विपक्षमा रहेका छन्। वामदेव गौतम भने यो  विषयमा मौन बसेको स्रोतले जनाएको छ। ‘सचिवालय बैठकमा पनि सर्वदलीय संयन्त्रबारे कुनै प्रतिक्रिया जनाउनु भएन, उहाँ मौन हुनुहुन्छ’, नेकपा स्रोतले भन्यो। अध्यक्ष दाहालले सचिवालय बैठकमा मात्र होइन सार्वजनिक रुपमै आवश्यक परे सर्वदलीय संयन्त्र बनाउनु पर्ने धारणा राखेपछि बहस सतहमा आएको छ।

तर यसलाई नेकपा नेताहरुले बैठकमै असहमति प्रकट गरेका कारण बाहिर खुल्न चाहेका छैनन्। ‘संकटमा सरकारलाई सहयोग गर्ने सरकारले कमजोरी गरे त्यसपछि पार्टीले अरु विषय सोच्नुपर्छ अहिले यो संकटमा सरकारलाई सहयोग गरेर जानुपर्छ सर्वदलीय संयन्त्र कुनै पनि मानेमा स्वीकार्य छैन’, सचिवालय बैठकमा माधव नेपालको भनाई उद्यृत गर्दै एक सदस्यले भने। गणतन्त्र अगाडी स्थानीय तह नहुँदा सर्वदलीय संयन्त्र बनाएर लोकतन्त्र कमजोर बनाएको उदाहरण नेताहरु विर्सन हुदैन भन्दै नेता नेपालले यो विषय यही टुग्याउँ अहिलेलाई सरकारलाई नै सहयोग गरौ भनेपछि सचिवालय बैठकमा त्यो विषयनै अन्त्य भएको स्रोतले जनाएको छ।

नेता खनालले पनि सरकारले कमजोरी गर्नु हुँदैन जनस्तरबाट उठेका प्रश्नहरुको जवाफ दिनुपर्छ त्यसको अर्थ सर्वदलीय संयन्त्र हो भनेर हामी अघि बढ्नु मूर्खता मात्रै हो भनेका थिए। बैठकमा पार्टीका प्रवक्ता श्रेष्ठले पनि कोभिड–१९विरुद्ध सर्वदलीय संयन्त्र विकल्प नभएको बताएका थिए। सबै दलको समर्थन रहेका बेला यस्ता विषय के लागि आएका हुन भन्दै उनले सरकारलाई पार्टीले सहयोग गर्ने र सरकारले पार्टीको समन्वयमा काम गर्न सुझाव दिएका थिए। गृहमन्त्री थापाले पनि सरकारले सकेसम्म राम्रो काम गरिरहेको रिपोर्टिङ गरेका थिए। ‘प्रसँगवश कुरा उठेको थियो यसमा छलफल पनि भएन निर्णय पनि भएन’, वरिष्ठ नेता झलनाथ खनालले भने।

सरकारले लकडाउन गर्नुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारका तर्फबाट सर्वदलीय बैठक गरेका थिए। सो बैठकमा उपस्थित रहेका सबै दलका नेताहरुले यसमा सरकारलाई साथ र सहयोग रहने आश्वसन दिएका थिए। सर्वदलीय राजनीतिक संयन्त्र गठनको विषयमा नेकपा शीर्ष नेताहरु असहमत रहेका बेला कार्यकारी अध्यक्ष दाहालले भने प्रधानमन्त्री ओलीसँग भेटघाटको प्रस्ताव गरिरहेका छन्। तर उनले समय नपाएको भन्दै बाहिर सामाचार आइरहेका बेला भने बालुवाटार निकट स्रोतले भने त्यसको खण्डन गरेको छ। ‘आवश्यक पर्दा उहाँ सिधै बालुवाटार आउनसक्नु हुन्छ समय नै लिरहनु पर्दैन भेटघाट भनेर किन बाहिर भनिरहनु भएको हो’, बालुवाटार निकट स्रोतले भन्यो ‘उहाँले नै समय पाउनु भएको छैन भनेर बाहिर हल्ला आउनु राम्रो सन्देश होइन, प्रधानमन्त्रीज्यूले उहाँका लागि सधै ढोका खुला राख्नु भएको छ।’

केही दिनअघिदेखि साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपाका कार्यकारी अध्यक्ष दाहाल र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवासँग कोभिडविरुद्धको लड्न सर्वदलीय संयन्त्रको आवश्यक रहेको र त्यसको पहल गर्न आग्रह गरेका थिए। तर देउवाले यस्तो बेलामा सरकारलाई सहयोग गर्ने पहिलो प्राथमिकता हो भन्ने जवाफ दिएको स्रोतले भन्यो।

नागरिकन्यूजबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation