कपिलवस्तु, वैशाख १५ । आइतबार राति कपिलवस्तुमा नेपाल प्रहरीलाई कुटपिट गर्ने पाँचजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको सिदार्थनगर जिल्लाको खुनुवा ठानाको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारत सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर–७ को सेमरी गाउँमा सीमा सुरक्षामा खटिएका प्रहरी हवल्दार वशिष्ठ यादव र प्रहरीजवान ईश्वर ज्ञवालीलाइ १०० मिटर भारततर्फ लगि कुटपिट गरिएको थियो ।
सीमामा निगरानी गर्नेक्रममा भारतीय नागरिकले नियन्त्रणमा लिइ कुटपिट गरेका उनीहरु ‘एसएसबी’को पहलपछि नियन्त्रणमुक्त भएका थिए ।
भारतीयको नियन्त्रणमा परेका प्रहरीको अवस्था अहिले सामान्य छ ।
केही भारतीयको हुलले दुई प्रहरीलाई नियन्त्रणमा लिएर लगेको र एसएसबीको सहयोगमा उद्धार गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।