रेडियो नेपालका समाचार प्रमुख नवराज लम्सालसँग पनि सञ्‍चार मन्त्रालयले माग्यो स्पष्टीकरण

वैशाख १६, काठमान्डाै

काठमाडौँ — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषय लिएर सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित समाचार प्रमुख नवराज लम्सालसँग पनि स्पष्टीकरण सोधेको खुलेको छ । 

सञ्चार सचिव दीपक सुवेदीले कार्की र लम्साल दुवैलाई एक साथ सोही विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए।

रेडियो नेपालबाट सोमबार बिहान ६:३० मा प्रशारित अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना गरेको विषयलाई लिएर सञ्चार मन्त्रालयले स्पष्टीकरण सोधेको हो। सोमबार सोधिएको स्पष्टीकरण तीन दिनभित्र पेश गर्न पत्रमा भनिएको छ।

प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले सरकारलाई पंगु, निरंकुश र भष्मासुर भनेको भन्दै मन्त्रालयले समाचार प्रमुख लम्साल र कार्यकारी निर्देशक कार्कीलाई स्पष्टीकरण सोधेको हो।

स्वायत्त संस्थाको रुपमा रहेको रेडियो नेपालले प्रसारण गरेको विपक्षी नेताको विचारलाई लिएर स्पष्टीकरण सोधिनु लज्जास्पद विषय भएको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल बताउँछन्।‘सरकारी सञ्चारमाध्यमले सरकारको सहित विपक्षीको विचारलाई पनि समेट्नु उत्तिकै आवश्यक छ,’ उनी भन्छन्,‘नत्र सरकारी सञ्चार माध्यमको औचित्य समाप्त हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation