आज गणतन्त्र दिवस देशभर उल्लासपुर्वक मनाईदै

नेपालीहरुका लागि बिशेष महत्वको दिन। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस।

निरंकुश एकात्मक राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा भव्यताका साथ मनाईदै छ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

विक्रम संवत् २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विक्रम संवत् २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो। राजा ज्ञानेन्द्र शाहले लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउंदै हटाउंदै गरेपछि २०६१ माघ १९ गते शासन सत्ता आफ्नै हातमा लिएका थिए।

त्यसपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीका बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो।

२०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लिंदै गएपछि राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरेपछि लोकतन्त्र स्थापना भएको थियो।

लोकतन्त्र स्थापना पछि २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनले गठन गरेको संविधानसभाले २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो। त्यसयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाईदै आएको छ। गणतन्त्र दिवसको अवसरमा आज संघ तथा प्रदेश सरकारहरुले विभिन्न कार्यक्रम गर्दै छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation