नेकपा विवादः संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश

प्रकाशित, वैशाख १७, बुधवार

काठमाडौँ — दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको सत्तारुढ नेकपाको आन्तरिक विवाद अव संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश गरेको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन सकिन विश्वाससहित सांसदहरुसँग सामूहिक र व्यक्तिगत संवाद थालेपछि विवाद संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश गरेको हो ।

पार्टी निर्णयविपरित सरकार चलाएको, सरकारकै कारण पार्टी बदनाम भएको निष्कर्षसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीले राजीनामा नगरे संसदीय दलमै आफ्नो बहुमत देखाउने योजनामा छन् ।

दाहाल–नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत जुटाउने निर्णायक कोशिष थालेका हुन् । ओली समूहले सांसदहरुको हस्ताक्षरसमेत संकलन सुरु गरेको छ । बुधबार साँझ बस्ने सचिवालय बैठक अगाडि बहुमत सांसद जुटाउने ओली समूहको योजना अनुसार सांसदहरुको हस्ताक्षर संकलन थालिएको बताइन्छ ।

पार्टी कमिटीमा बहुमतमा रहेको दाहाल र नेपाल समूह संसदीय दलमा रहेका आफ्ना सांसदहरु सुरक्षित गर्न सकेमात्रै पनि प्रधानमन्त्रीमाथि दबाब बनाउन सकिने विश्वासमा छ ।

आ–आफ्नो रणनीतिमा अगाडि बढेका ओली र दाहाल नेपाल दुवैपक्ष यतिबेला आफ्नो समूहमा रहेका सांसद सुरक्षित गर्ने र अर्को समूहका सांसदलाई ‘कन्भिन्स’ गरेर आफूतिर ल्याउने योजनामा छन् । त्यसैले दुवैपक्ष अहिले व्यक्तिगत र सामूहिक भेटमा लागेका छन् ।

संसदीय दलमा बहुमत देखाउन सके प्रधानमन्त्री पद सुरक्षित गर्न सकिने योजनासहित प्रधानमन्त्री ओली समूह यसको तयारीमा जुटेको छ ।

पार्टी कमिटीमा अल्पमतमा परेपछि संसदीय दलमा बहुमत पुर्‍याउने ओलीको रणनीति, दलमा पनि बहुमत बनाईराख्ने दाहाल नेपालको योजना छ । बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

नेकपाका १ सय ७४ सांसद छन् । पूर्वएमाले समूहको १ सय २१ र पूर्वमाओवादी समूहका ५३ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ ।

पूर्वएमाले समूहमा पनि प्रधाननमन्त्री ओलीको पक्षमा मात्रै ७८ सांसद रहेको यो समूहको दावी छ । वरिष्ठ नेता नेपाल समूह (झलनाथ खनाल र वामदेव गौतमसहित) ४३ सांसद भएको दावी छ । यसरी नेपाल–दाहाल समूहमा ९६ सांसद रहेको दावी गरिएको छ । ओली समूहबाट करिब एक दर्जन सांसद जोडिँदा एक सय नाघ्ने हिसाब दाहाल–नेपाल समूहको छ ।

उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।

प्रधानमन्त्री ओली भने पार्टीमा अल्पमतमा परे पनि संसदीय दलमा बहुमतमा रहेको देखाउँदै दुवै पद नछाड्ने अडान दोहोर्‍याउने मनसायमा छन् ।

आफ्नो पक्षमा रहेका सांसदहरुलाई काठमाडौं फर्किन मंगलबार नै दुवै पक्षका नेताहरुले आग्रह गरेका थिए । सोही अनुसार जिल्लामा रहेका सांसदहरु बुधबार काठमाडौं आईसकेका छन् ।

प्रधानमन्त्री आलीले संसदीय दलमा बहुमत पुर्‍याउने रणनीतिसहित सोमबारदेखि सांसदहरुसँग व्यक्तिगत र सामूहिक भेट गरेका छन् । सोमबार ओलीले आफूनिकट करिब ३० सांसदसँग छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए । देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको र यसमा सचेत हुनुपर्ने ओलीको भनाई थियो ।

मंगलबार साँझ पनि प्रधानमन्त्री ओलीले सांसदहरुसँग सामूहिक छलफल गरेका थिए । सोमबारको छलफलमा सहभागी भएका सांसदहरु मंगलबारको छलफलमा सहभागी थिए । पार्टीका दुई दर्जन सांसदहरूसँग मंगलबारको भेटमा उनले पार्टी एकता बिथोल्ने प्रयास भएको भन्दै पार्टीलाई एकताबद्ध गर्न सांसदहरुको पनि भूमिका हुने भएकाले साथ दिन ओलीले आग्रह गरेको सांसद सूर्य पाठकले बताए ।

प्रधानमन्त्री ओलीले बुधवार बिहान पनि केही सांसदलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । छलफलमा हस्ताक्षर संकलनलगायतका विषयमा कुराकानी भएको सांसद महेश बस्नेतले बताए । उनका अनुसार सकेसम्म लचक बन्ने र त्यसो गर्दा पनि दाहाल–नेपाल समूहले नमाने कठोर निर्णय लिन प्रधानमन्त्री ओलीलाई आफूहरुले सुझाव दिएको बस्नेतको भनाई छ ।

यद्यपि बहुमत अझै नपुगेको हुँदा अर्को समूहका असन्तुष्ट सांसदहरुलाई फकाउने प्रयास पनि भईरहेको छ । खासगरी पूर्व माओवादी समूहका केही सांसदलाई ओली निकट नेताहरुले बुधबार बिहान पनि फोन गरेर बालुवाटार आउन आग्रह गरेको एक सांसदले बताए । प्रधानमन्त्रीले सक्दो सहयोग गर्ने प्रस्तावसहित आफूलाई सहयोग गर्न आग्रह गरेको गरेको भए पनि आफू नगएको उनले बताए ।

अर्कोतर्फ दाहाल र नेपालनिकट नेताहरु पनि आफ्नो समूहका सांसदहरुसँग लगातार सम्पर्कमा छन् । केही असन्तुष्ट सांसदसँग दाहाल र नेपाल आफैंले पनि भेट गरेका छन् ।

दुवै पक्षले सांसदहरुलाई आफ्नो पक्षमा पार्न सबै शक्ति लगाएका छन् ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । ओलीइतर समूहले ओलीलाई निकास दिन भनिसकेका छन् । यस्तो अवस्थामा रहेका प्रधानमन्त्री ओलीले पार्टी बैठक टार्दै आएका थिए । यद्यपि बुधबार साँझ सचिवालय बैठक बस्दै छ ।

बैठकमा ओलीइतर समूहले विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई ‘निकास दिनुस्’भन्ने प्रस्ताव औपचारिक रुपमै राख्ने तयारी गरेका छन् । साथै स्थायी कमिटी बैठकबारे पनि निर्णय गर्न ओलीलाई दबाब दिने तयारीमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation