ओलीको अर्काे कार्ड बामदेव प्रधानमन्त्री, नेपाल तेस्रो अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरि सचिवालकाे बैठकमा अर्काे कार्ड फालेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरि अर्काे कार्ड फालेका हुन् । 

संसद नै नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सचिवालय बैठकमा नेताहरु आश्चर्यचकित बनेका थिए । अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भएर पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेकोमा ओलीले यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यस्तै ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव समेत गरेको एक सचिवालय सदस्यले संचारमाध्यमहरूलाइ जानकारी दिए । 

बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । 

तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा देखिए । बैठकमा लामो भूमिकासहित आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए बामदेव गौतमलाई कोरोनाको महामारीपछि बनाऔं भन्दै प्रस्ताव गरेका थिए । यस्तै उनले पार्टीमा माधव नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । हाल नेकपामा ओली र प्रचण्ड अध्यक्षकाे भूमिकामा छन् । 

उनको प्रस्ताबारे नेताहरुले खासै टिप्पणी गरेनन् भने यसबारे थप छलफल गर्नेगरी बैठक सकिएको थियो । 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए । 

आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए । 

२० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने उनले विश्वास व्यक्त गरे ।  
नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ ।  

विवादका बीच  ओली इतर पक्षले उनले प्रधानमन्त्री र अध्यक्ष पद छाड्नुपर्ने अडान लिँदै आएको अवस्थामा आज ओलीले यस्तो धारणा राखेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation