वामदेवको संसद् यात्रा : नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक प्रदर्शन भएको फ्लप नाटक

तर, वामदेवले आफूलाई यस्तो यात्रीको रूपमा उभ्याएका छन् जसले हार खान सक्छ, तर हरेस खान तयार छैन 

गत संसदीय निर्वाचनमा जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने विषय नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक दोहोरिएको ‘नाटक’ हो, तर नाटकमा नयाँनयाँ शृंखला आउने क्रम रोकिएको छैन । 

नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडाउने वा राष्ट्रिय सभामा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संशोधन गरेर प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव छ । तर, गौतम संसद् सदस्य बन्ने विषयका नयाँ–नयाँ आयाम पटक–पटक दुर्घटनामा पर्दै आएका छन् । 

संसदीय निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजित गौतमले विपक्षीलाई होइन, पार्टी अध्यक्ष ओली र उनको समूहलाई दोष दिएका थिए । बर्दियाका पार्टी नेता श्याम ढकाललाई कारबाही गराउन उनले प्रयास पनि गरेका थिए । तर, ढकाललाई कारबाही गर्न ओलीले नमानेपछि गौतम आक्रोशित भएका थिए । 

त्यहीबीचमा सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर डोल्पाबाट चुनाव लड्न गौतमले निकै कोसिस गरेका थिए । गौतमकै पहलमा पर्यटन राज्यमन्त्री भएका बुढाले राजीनामा दिने वचन पनि दिएका थिए । तर, जनता सम्झाएर आउँछु भन्दै डोल्पा गएका बुढा जनताले मान्दै मानेनन् भन्ने सन्देश बोकेर आएपछि गौतम आश्चर्यचकित भएका थिए । 

पछि दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने तयारी गौतमले गरेका थिए । तर, उनीहरूले राजीनामा दिएनन् । बरु, काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिएका थिए । तर, प्रधानन्त्री ओलीलाई समेत थाहा नदिई राजीनामा आएको भन्दै ओली रिसाए । त्यति मात्र होइन, जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर संसद् छिर्न खोजेको भन्दै गौतमको सार्वजनिक आलोचना भएको थियो । काठमाडौं–७ का पार्टी नेताहरूले नै उपनिर्वाचन भए जिताउन गाह्रो हुने सन्देश दिएपछि गौतम पछि हटेका थिए । तर, गौतमलाई लगाएको त्यही गुनबापत रामवीर अहिले सहरी विकास राज्यमन्त्री छन् । 

प्रतिनिधिसभाबाट संसद् छिर्ने बाटो विकट हुँदै गएपछि गौतमले राष्ट्रिय सभाको बाटो छाम्न थालेका थिए । राष्ट्रिय सभाका १८ सिटका लागि भएको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न स्वयं प्रधानमन्त्री ओलीले पनि आग्रह गरेका थिए । तर, उनी उम्मेदवार बनेनन् । सोही निर्वाचनमा नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित पनि भए । तर, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने’ अडान गौतमले राख्दा ओलीले अस्वीकार गरेका थिए । 

पछि राष्ट्रपतिबाट निर्वाचित हुने एक सदस्यका रूपमा राष्ट्रिय सभा जान गौतम तयार भए । तर, यो एक मात्र सिटका लागि प्रधानमन्त्री ओलीले आफ्ना अर्थमन्त्री युवराज खतिवडाका लागि तयार पारेका थिए । त्यसैले ओलीले गौतमको भन्दा खतिवडाको पक्षमा अडान लिए । ओलीको इच्छाविपरीत फागुन दोस्रो साताको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा सिफारिस गर्ने निर्णय गरेको थियो । ओलीले यो निर्णय अलपत्र बनाइदिएका छन् । 

अहिले प्रधानमन्त्री आफैँले गौतमलाई फेरि संसद् बनाउने प्रस्ताव ब्युँताएर ल्याएका छन् । गौतम राष्ट्रिय सभामा पुगिहाले पनि त्यहाँबाट प्रधानमन्त्री हुन सजिलो छैन । किनकि संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन । तैपनि नयाँ प्रस्तावले गौतमलाई फेरि तरंगित बनाएको छ । उनले यस्तो निर्णय सकेसम्म छिटो होस् भन्ने चाहना पनि व्यक्त गरिसकेका छन् । बुधबार सचिवालयको बैठकमा उनको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यूले अगाडि सारेको प्रस्ताव ठीकै छ । यसलाई सकारात्मक रूपमै लिउँ । तर, पार्टी बैठकमै प्रवेश गराएर निर्णय गरौँ । आजै गरे पनि गरौँ । सचिवालयमै निर्णय भयो भने स्थायी समितिमा जानैपर्छ भन्ने पनि छैन ।’ जे होस्, गौतमका लागि संसद् यस्तो यात्रा भएको छ जहाँबाट गन्तव्य नजिकै देखिन्छ, तर मोडैमोडले यात्रा बरालिएको छ । गौतमले आफूलाई संसद्को यस्तो यात्रीका रूपमा उभ्याएका छन् जसले हार खान सक्छ, तर हरेस खान तयार छैन । 

नयाँ पत्रिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation