रोल्पा बम विस्फोट : १८ घण्टा बित्दा पनि उठ्न सकेन शव

बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका वाड नम्बर–७ का ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री सधैँझैँ बाख्रा चराउन भन्दै बिहीबार घरबाट निस्किए । उनीहरुसँगै थिए छिमेकी १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय नोखीराम डाँगी ।

दिनभर बाख्रा सगै चलाएर घर फर्कदै थिए । फकदै गर्दा उनीहरुले बाटोमा बम भेटे । तर, अबोध बालबालिकाले त्यसलाई खैनौला ठाने । एक्कासी विष्फोट भयो । विस्फोटको आवाज यति ठूलो थियो, टाढासम्म स्थानीयले सुने ।

त्रसित बनेका स्थानीयहरु कहाँ के भयो भन्दै खोज्दै जादाँ गहुँबारी ४ जना बालबालिका मृत्त अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले रातोपाटीलाई बताए ।

जनप्रतिनिधि र प्रहरी पुग्दा नजिकै अर्को बम पनि फेला प-यो । सबै त्रसित र शोकमग्न बने । घटनास्थल नजिकै अर्को बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेको छन् ।

विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले रातोपाटीलाई जानकारी दिए । प्रहरीले घटनास्थल सिल गरिसकेको छ ।

माओवादी सशस्त्र युद्धका क्रममा घटना भएको रोल्पाको दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो । त्यही समयको बेवारिसे अवस्थामा फेला परेको बम गोठाला गएका बालबालिकाले खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । ठूलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ को रहेको प्रहरीको भनाइ छ ।

यतिबेला सिंगो गाउँ शोकमा डुबेको छ । रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले सेनाले अर्को बम डिस्पोज नभएका कारणले शव अझै नउठाएको बताए । उनले रातोपाटीसग भने, ‘सेना पुगेको छ अर्को बम डिस्पोज भएपछि शव उठाउने छौँ ।

रोल्पाको पश्चिम क्षेत्रमा पर्ने त्रिवेणी गाउँपालिका वार्ड नम्वर ७ गौरीगाउँ रोल्पा जिल्लाको सदरमुकाम लिवाङभन्दा झन्डै ५० किलोमिटर दुरीमा पर्दछ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता  प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार यो क्षेत्र दाङ र सल्याडको सीमा क्षेत्रतिर पर्दछ ।

शोकमा गाउँ 

बम विष्फोटमा चार अबोध बालबालिकाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ । ज्यान गुमाएका विमला र विजय खत्री दिदीभाइ हुन् । छिमेकी गाउँ त्रिवेणी–४  छेपगाउँबाट मामा घर आएका १३ वर्षिय गौरब नेपालीले ज्यान गुमाएका छन् । गाउँपालिका अध्यक्ष  शान्तकुमार वलीले सिङ्गो गाउपालिका शोकमा रहेको रातोपाटीलाई बताए  । प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले आफूहरु घटनास्थलतर्फ जादै गरेको बताए । प्रदेशका कानुन मन्त्री कुलप्रसाद केसी पनि गाउँमा आउदै गरेको रातोपाटीलाई बताए ।

बम विस्फोट भएको स्थानबाट अलि ढाटा दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । ०६२ साल ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगरका अनुसार सो भिडन्तमा  नेपाली सेना र माओवादी लडाकु दुवै तर्फको क्षति भएको थियो । अहिले जुन बम भेटिएको त्यो चाहिँ अनुसन्धान विषय भएको उनले बताए । उनले भने, ‘उक्त बम द्वन्द्वमा नै छाडिएको हो अथवा अरु नै हो भनेर प्रहरीले अनुसन्धान पछि स्पष्ट पार्नुपर्छ ।’

##/राताेपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation