प्रचण्ड-नेपालले तय गरे भोलिका लागि रणनीति

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ।

नेपाल निवास कोटेश्वरमा भएको उक्त छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय भएको स्थायी समिति सदस्य भीम रावलले  जानकारी दिए।

‘प्रधानमन्त्रीले बालुवाटारबाटै गुटबन्दी गर्ने, सांसदहरू हस्ताक्षर गर्ने काम गर्नुभएकाले हामीले पनि के गर्ने भन्नेबारे गम्भीर भएर सोच्नु पर्ने बेला आएको निष्कर्ष निस्किएको छ,’ रावलले सेतोपाटीसँग भने।

उनले भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावबारे प्रधानमन्त्रीबाट थप प्रष्टता खोजिने बताए।

वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ, उहाँलाई प्रधानमन्त्री बनाउने आधार के-के हुन् भन्नेबारे सचिवालयमा प्रधानमन्त्रीलाई सोध्ने कुरा भएको छ,’ रावलले भने,‘हिजो सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा मनोनयन गर्न गरेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले कसरी उहाँलाई प्रधानमन्त्री बनाउनु होला।’

कोटेश्वर बैठकमा प्रचण्ड-नेपालसँगै उनीहरू पक्षका केही स्थायी समिति सदस्यहरू पनि सहभागी थिए।

नेपालसँग छलफल गर्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेका थिए। तर उनीहरूबीच के के कुराकानी भयो भन्ने खुलाइएको छैन।

पछिल्लो समय नेकपामा राजनीतिक संकट गहिरिँदै गएको छ।  प्रचण्ड-नेपाल पक्ष प्रधानमन्त्री ओलीले सरकार छोड्नु पर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्ने भए वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन्।

नेकपा सचिवालय बैठक शनिबार साँझ बालुवाटारमा बस्ने तय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation