प्रधानमन्त्रीले राजीनामा गरेर वामदेवबारे थप प्रस्ताव ल्याउनुपर्ने प्रचण्ड-नेपालको निष्कर्ष

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे ठोस प्रस्ताव आउनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार हुने सचिवालय बैठकका लागि रणनीति तय गर्न कोटेश्वरस्थित नेपाल निवासमा शुक्रबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा कोरोना महामारी सकिएपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएका थिए। उक्त प्रस्ताव असल नियतले नआएको प्रचण्ड-नेपाल पक्षको विश्लेषण छ।

‘यसअघि वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भनेर पार्टी सचिवालयले गरेको निर्णय त प्रधानमन्त्रीले कार्यान्वयन गर्नुभएन, अब यो प्रस्ताव कार्यान्वयन हुन्छ भनेर कसरी पत्याउने?’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँको चाहना वामदेवलाई प्रधानमन्त्री बनाउने नै हो भने भोलिको बैठकमा राजीनामा दिनुपर्छ, अनि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव स्थायी समितिमा ल्याउनुपर्छ।’

शनिबार बस्ने सचिवालय बैठकमा स्थायी समिति बैठक डाक्नुपर्ने एजेन्डालाई आफूहरूले प्रमुख रूपमा उठाउने समिति सदस्य युवराज ज्ञवालीले बताए।

‘सचिवालय बैठकमा के हुन्छ भनेर हामीले देखिसकेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘स्थायी समितिका सबै सदस्यको धारणा सुनेपछि सचिवालयमा फेरि छलफल गर्न सकिन्छ। त्यसैले अब सबै प्रस्ताव स्थायी समितिमै ल्याउन हामीले भनेका छौं।’

प्रधानमन्त्री ओली पक्षले सांसदहरूलाई बालुवाटार बोलाउँदै हस्ताक्षर गराएकोमा समेत आपत्ति जनाइएको अर्का स्थायी समिति सदस्य रघुजी पन्तले बताए।

‘सांसदहरूलाई गाडीमा राखेर लग्यो अनि खाली कागजमा सही गरायो। यस्तो किन भइरहेको छ?’ पन्तले भने, ‘कतिपय सांसदले त आफ्नो हस्ताक्षर फिर्ता लिने बताइरहेका छन्।’

प्रधानमन्त्रीकै निर्देशनमा हस्ताक्षर गराइएकाले अर्को पक्षले पनि स्वाभाविक रूपमा हस्ताक्षर अभियान सुरू गर्ने स्थायी समिति सदस्य ज्ञवालीले बताए।

कोटेश्वर भेलामा वरिष्ठ नेता नेपालका साथै स्थायी समिति सदस्यहरू भीम रावल, युवराज ज्ञवाली, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, गोकर्ण विष्ट लगायत उपस्थित थिए।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अर्का अध्यक्ष प्रचण्ड पनि सिधै कोटेश्वर पुगेका थिए। प्रचण्डले प्रधानमन्त्रीसँगको कुराकानी फलदायी हुन नसकेको जानकारी नेताहरूलाई गराएका थिए।

‘उहाँहरूको कुराकानी के हुन्थ्यो र? प्रधानमन्त्रीको गुनासो मात्रै त हुने हो नि,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मलाई षड्यन्त्र भयो, हटाउन खोजियो, मैले के बिगारेको छु, यस्तै यस्तै कुरा त हो उहाँले गर्ने?’

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्रीनिकट मुख्यमन्त्रीहरूसमेत काठमाडौं आएका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई शुक्रबार बालुवाटार पुगेका थिए। उनीहरूसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए।

‘प्रधानमन्त्रीले पार्टीभित्रको विवाद मिलाउन निरन्तर पहल गरिरहनुभएको छ। कहिले प्रचण्ड, कहिले माधव नेपाललाई भेट्नुभएको छ। आज हामीसँग छलफल गर्नुभएको हो,’ भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले बुधबारकै सचिवालय बैठकमा राखेको प्रस्ताव शनिबार लैजानुहुन्छ। त्यसैमा थप छलफल हुन्छ होला।’

प्रचण्डले पनि आफूनिकट स्थायी समिति सदस्यहरूसँग छलफल गरेको उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।

भेटमा नेताहरूले स्थायी समिति बैठक बोलाउनुको विकल्प नरहेको र प्रधानमन्त्रीले वामदेवबारे प्रस्ताव ल्याउनु रहस्यमय रहेको बताएका थिए।

त्यस्तै, उपाध्यक्ष गौतमले आफूनिकट केही कानुन व्यवसायीसँग छलफल गरेको उनीनिकट स्रोतले जानकारी दियो। स्रोतका अनुसार गौतमले प्रचण्ड-नेपालसँग पनि छलफल गरिरहेका छन्।

उपाध्यक्ष गौतम अहिले पनि प्रधानमन्त्रीको प्रस्तावबारे अन्यौलमै रहेको उनीनिकट एक नेताले बताए। ती नेताका अनुसार गौतमले शनिबारको सचिवालय बैठक कुरेका छन्।

‘प्रधानमन्त्रीले अस्तिको बैठकमा राखेको प्रस्ताव भोलिको बैठकमा कसरी अघि बढाउनुहुन्छ, त्यो कुर्नुभएको छ,’ उनले भने।

सेताेपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation