‘मलाई प्रधानमन्त्रीका मान्छेले धम्की दिए’ शारदा भट्ट, राष्ट्रिय सभा सदस्य, नेकपा

काठमान्डाै

म राष्ट्रिय सभाको सांसद हो,अहिले लकडाउनले गर्दा लुभुमा रहेको घरमै बसिरहेकी छु। लकडाउनमा घर बसिरहेको बेलामा केपी ग्रुपका (प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली)धेरैको फोन आयो।

तर उनीहरु धेरैले केही भनेका थिएनन्, खाली हस्ताक्षर गर्न मात्रै बालुवाटार जानु पर्यो भनेका थिए। आज ४ बजेर ४ मिनेटमा नेकपा केन्द्रीय सदस्य गौरी ओलीको फोन आयो।

उनी प्रधानमन्त्री केपी ओली निकटको मान्छे हो। मलाई फोन गरेर पहिला त राम्रै कुरा गरिन्। उनले ‘दस्तखत गर्न जानुभएन बालुवाटार?’ भनिन्।

पहिला त मैले मलाई सञ्चो छैन भनेकी थिएँ। मैले त्यसो भनेपछि उनले ‘गाडीमा गएर दस्ताखत गरेर आउनुपर्यो नि, प्रधानमन्त्रीलाई ढाल्दै छन्, तपाईंको एउटा दस्तखतले कत्रो ठूलो काम गर्छ’ भनेर भनिन्।

त्यसपछि मैले हेर्नुस् म राष्ट्रिय सभाको सदस्य हो, मेरो त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका हुँदैन भनेर समेत भनेकी थिएँ।

फेरि उनले सबै राष्ट्रिय सभाका सांसदले हस्ताक्षर गरेर आउनुभयो तपाईंले अनेक बहाना गर्नुहुन्छ भनेर समेत भनिन्।

अनि मैले तपाईं त्यसो नभन्नुस् मैले केही बहाना गरेकी छैन भनेर भनेँ। पार्टीमा सबै लडिराछन्, पार्टीमा यत्रो बबाल भएको छ, म तटस्थ बस्ने मान्छे हो त्यसैले यो लफडा राम्रो मान्दिनँ भनेपछि उनी एकाएक आक्रोशमा आइन्।

आक्रोशमा आएर उनले भनिन् ‘हिजोअस्ति टिकट दिने बेलामा प्रधानमन्त्रीले मलाई दिनुभएको थियो, मैले हाम्रो शारदा दिदी बुढी मान्छे, इतिहास बोकेको मान्छे उहाँलाई दिनुपर्छ भनेर भनेको हो।’

उनको त्यस्तो कुरा सुनेपछि मैले भने ‘तपाईं आफै हुनपर्ने हो नि तपाइले मलाई किन दिनु परेको थियो र? म त ७० वर्षसम्म यसै बसेको थिएँ’ भनेर जवाफ दिएँ।

मलाई उनको कुराले चित्त नबुझेपछि ‘मलाई त नेकपाले टिकट दियो भन्ने ठानेको थिएँ तर गौरी ओलीले दिएको रैछ?’ भनेँ। पछि उनले ‘हो नि त’ समेत भनिन्।

उनले फेरि मलाई ‘तपाईं जानुहुन्न?’ भनेर भनिन्। अनि मैले ‘म कतै जान्नँ, यता पनि जान्नँ उता पनि जान्नँ’ भनेर जवाफ दिएँ।

त्यसो भए तपाईंलाई धेरै अप्ठेरो पर्ला है भोलिको दिनमा गाह्रो पर्ला भनिन्। अनि मैले के अब मेरो पद खोस्नुहुन्छ र तपाईं भनेर समेत भनेँ।

त्यसपछि उनले जे पनि हुनसक्छ भनेर भनिन्। ‘जे पनि हुनसक्छ विचार गर्नुहोस्, है विचार गर्नुहोस्,’ भनेर भनिन्।

उनले अझै रिसाउँदै ‘राम्ररी बस्नुहोला, तपाईंलाई धेरै अप्ठेरो होला भोलिको दिनमा, मैले भन्दिएको कुरा हो, धेरै सतर्क भएर बस्नुस्’ भनिन्।

अन्तिममा मैले ‘ए त्यसो हो र?’ भनेँ। अनि उनले ‘किन नहुने जे पनि हुनसक्छ नेपालमा’ भनिन्। मैले ‘ल त्यसो भए गर्नुस् जे जे हुन्छ मलाई गर्नोस्,’ भनेर भन्दा उनले ‘ए त्यसो हो?’ भनेर ठ्याक्कै फोन राखिन्।

उनले जोडतोडले गाली समेत गरेकी थिइन्। यो धम्की होइन त ?

(राष्ट्रिय सभामा नेकपाबाट गत माघमा निर्वाचित सांसद शारदा भट्टसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation