राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

भेरी नगरपालिका वडा नम्बर १ पिपेका हरिबहादुर पुन हिजोआज मल बोक्दै छन्। मकै रोप्ने बारीमा मल छर्नुपर्नेछ। एक साताअघि उनी नुवाकोटबाट घर भएका हुन्। त्यसबेला उनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो। उनीसँगै आएका सात जना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्न थाले।

उनीहरु दैनिक ज्यामिरे ओडारबाट घर आएर सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि अरू काम गरिरहेका छन्।गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले बताए।पिपे गाउँकै टार्जन पुनको सात जनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ।

वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए। अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले बताए।

‘खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन। अर्को वर्ष के खाने?,’ उनले प्रश्न गरे, ‘हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ। बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ।’ १४ दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ। अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ।

कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ। अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ। जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन्।जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन्। विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ।भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ।त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ। छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ। शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए।खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको उनले बताए।जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन्। अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ। अहिलेसम्म ५०० दु्रत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए।हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट संक्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation