तौलिहवा, २१ बैशाख
एघार दिन अघि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेको देशभरमा लकडाउनमा फसेका कपिलवस्तुबासीलाई फर्काउन सहयोग गर्ने सन्देश सामाजिक सञ्जालमा व्यापक भाईरल भयो । स्थानिय उज्जवल शर्माले फेसबुकमा हालेको सन्देशमा काठमाण्डौं लगायत देशभरी बाट आफनो गृह जिल्ला (कपिलवस्तु) फर्कन चाहनेका लागी वडा अध्यक्ष गैरेले आफनो सम्पुर्ण खर्च बेहोर्ने गरि यातायातको सुबिधा उपलब्ध गराउने हुदाँ आफ्नो गृह जिल्ला फर्कन चाहने व्यक्तिहरुले सम्पर्क राख्न भनिएको थियो । वडा अध्यक्ष गैरेको दुई वटा मोबाईल नम्बर सोही सन्देशमा उल्लेख गरियो । सो सन्देशकै आधारमा कतिपय सञ्चार माध्यममा समाचार संप्रेषण गरिए पछि वडा अध्यक्ष गैरेले शुरुवात गर्न थालेको नमुना कार्यको सर्वत्र प्रशंसा भयो ।
सन्देश राखिएकै दिन कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गौरब गुप्ताले नेपालगंजमा लकडाउनमा फसेका भाउजु प्रिती गुप्ता, भतिजा प्रतिम र भतिजी प्रितिसालाई घर फर्काउन दिईएको नम्बरमा फोन गरे । दिईएको नम्बर वडा अध्यक्ष प्रकाश गैरेको थियो, गुप्ताले प्रशंसनिय कार्य गरेको भन्दै गैरेलाई भाउजु सहित परिवारका सदस्यलाई जिल्ला भित्राईदिन अनुरोध गरे । सन्देशमा देशभरबाटै घर फर्काउने भनिएकाले फोन गरेका गुप्तालाई वडा अध्यक्ष गैरेले काठमाण्डौंमा लकडाउनमा परेकालाई मात्रै फर्काउन सकिने जवाफ दिए । वडा अध्यक्षको सामाजिक सन्जालको सन्देश र फोन संबाद ठ्याक्के बिपरित भए पछि गुप्ता अन्योलमा परे । त्यस पछि वडा अध्यक्ष गैरेले गुप्तालाई न त कुनै उपाय बताए न त नेपालगंजमा लकडाउनमा फसेका उनका परिवारका सदस्यलाई जिल्ला झिकाउन आवश्यक सहयोगका लागी चासो नै दिए । गुप्ता जस्तै शुरुमा वडा अध्यक्ष गैरेको घोषणाले देश भरबाट कपिलवस्तुमा जिल्लामा फर्किन पाउने आशामा रहेका जिल्लाबासी अहिले निराश बनेका छन ।
बैशाख १० गते सामाजिक सन्जालमा सन्देश प्रशारित भएको दुई साता पुग्नै लाग्दा वडा अध्यक्ष गैरेले जिल्लामा कति जिल्लाबासीलाई भित्राए त ? हामी सो बिषयमा बुझने प्रयासमा लाग्यौ । वडा अध्यक्ष गैरेले आफनै फेसबुक वालमा बैशाख ११ गते पुनः प्रमुख जिल्ला अधिकारी सहितको समन्वयमा गृह जिल्ला कपिलवस्तु आउने व्यक्तिलाई नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाईनमा राखेर संक्रमण नभएको व्यक्तिलाई वडा कार्यालयको रोहवरमा घर प्रवेश गराउने कुरा जानकारी भएको भन्दै उक्त मापदण्डमा रहि कोही व्यक्ति आफ्नो गृह जिल्ला फर्कन चाहे यातायात सहितको सबै खर्च आफैले बेहोर्ने सुचना दिए । वडा अध्यक्ष गैरेले राखेको सन्देश १७ जनाले शेयर गरेका छन । सो सन्देशमा रहेका कुल ३३ कमेन्ट मध्य साता अघि सन्जय पिएस कुवर क्षेत्रीको प्रश्न छ “केटिएममा मात्रै भएका हुन कि नेपालको जुन सुकै ठाँउमा भएकालाई हो यो सुबिधा ?” । तर साता दिन सम्म उनलाई वडा अध्यक्ष गैरेबाट जवाफ फर्काएको देखिएको छैन । सो बिषयमा बुझदाँ कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले हाल सम्म एक जनालाई पनि जिल्ला फर्काउन नसकेको बताए । “जिल्ला फर्काए पनि क्वारेन्टाईनमा बस्नु पर्ने झमेलाले कोही आउनै मानेनन ।” । उनले भने ।
विदेश सहित नेपालकै अन्य स्थानबाट आउनेका लागी आफनै वडामा क्वारेनटाईन बनाएका वडा अध्यक्ष गैरेले क्वारेन्टाईन बस्नु पर्ने सर्तकै कारण कोहि जिल्ला आउन नचाहेको भन्दै चर्चा अनुसारको काम नगरेर उम्किने प्रयत्न गर्नुले जनप्रतिनिधी काम भन्दा चर्चा बढि खोज्ने प्रबृत्तिमा रहेको प्रष्टिएको छ । उनी मात्रै होईन जिल्लाका अन्य केहि जन प्रतिनिधीले समेत यस्तै यस्तै फुस्रा सुचना सामाजिक सन्जालमा भाईरल बनाएका छन, तर अपेक्षाकृत कार्य हुन सकेको छैन । कोरोना संक्रमणका बेला मानविय कार्यमा तल्लिन रहनु पर्ने जनप्रतिनिधीहरुमा सामाजिक सञ्जालको प्रयोग गरि समाजमा भाईरल हुने प्रबृत्ति देखिनु दुखद रहेको समाजसेवीहरुको टिप्पणी छ । जनप्रतिनिधीका यस्ता कार्यले आम सर्वसाधारणमा भने जनप्रतिनिधीलाई हेर्ने दृष्टिमा नकारात्मकता आउन थालेको देखिन्छ ।