प्रदेश ५ मा कोरोना संक्रमित संख्या ११ पुग्यो, उच्च सर्तकता आवश्यक

प्रकाशित मिति : २१ बैशाख २०७७

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । आइतबार बाँंकेमा थप ९ जनामा कोरोना पुष्टी भएसंगै प्रदेश ५ मा संक्रमित संख्या ११ पुगेको हो । यस अघि शुक्रबार एकैदिन प्रदेशका बाँके र रुपन्देहीमा २ जनालाई संक्रमण पुष्टी भएको थियो ।

उनीहरु दुबै जना भारतबाट आएका थिए । उनीहरु दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेपनि संक्रमित भेटिएका रुपन्देहीको पुर्निहवा र बाँकेका विभिन्न स्थानमा सिल गरिएको छ । यसका साथै उक्त ठाउँ आउँजाउँमा समेत रोक लगाइएको छ ।

नेपालगन्जमा आइतबार ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि त्यहाँ थप सुरक्षा अपनाइएको छ । संक्रमण देखिएका मध्ये ५ जना पुरूष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् ।

उनीहरु सबैको नेपालगन्ज स्थित प्रयोगशालामा स्वाव परिक्षण गरिएको थियो । समाचार सार्वजनिक भएसंगै नेपालगन्जमा त्रास बढेको छ । संक्रमितहरु भेटिएको क्षेत्र सिल गर्ने र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई समेत क्वारेन्टाईनमा राख्ने ब्यवस्थापन गर्न लागिएको बाँके प्रशासनले जनाएको छ ।

संक्रमितहरु सबैलाई नेपालगन्ज स्थित सुसिल कोईराला प्रखर क्यान्सर अस्पतालको आईसुलेसन वार्डमा ल्याउने तयारी गरिएको छ ।

बाँकेका डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनका आसपासका व्यक्तिमा जाँच गर्दा नौ जना संक्रमित थपिएका हुन् । कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्ती र उनले पढाएका ९० जनाको स्वाब लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी छ ।

उनको सम्पर्कमा रहेका अरु केही व्यक्तिको आइतबार पनि स्वाब लिइएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ । १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको छ । वडा नं. ८ को जुलाहनपुरुवामा रहेको मस्जिदमा उनी दैनिक पढाउन जाने गर्थे र जुलाहनपुरुवा टोललाई नै सिल गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । संक्रमितलाई खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ । थप नौ जनालाई पनि त्यही लैजाने तयारी भएको छ ।

प्रदेश एकको उदयपुरपछि प्रदेश पाँचको नेपालगञ्जमा धेरै कोरोना संक्रमित भेटिएका हुन् । त्यस्तै आइतबार नै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रदेश ५ का विभिन्न जिल्ला भारतसंग सिमानाका जोडिएका छन् । १२ वटा जिल्ला रहेको प्रदेश ५ मा कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया र दाङ भारतीय सिमानाका जोडिएका जिल्ला हुन् । यस्तै सिमा नाकामा सुरक्षा सतकर्ता बढाएपनि पैदलयात्रुहरु सिमा नाकाबाट नेपाल छिरेका छन् । यसले पनि प्रदेश ५ कोरोनाको उच्च जोखिममा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation