प्रधानमन्त्री बन्ने प्रस्ताव वामदेव र विष्णु पौडेल ल्याएका थिए: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव नेपालले आइतबार आफूनिकट नेताहरूसँगको भेटमा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल नै आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको जानकारी दिए।

‘वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनि भएन, केपी ओलीबाट पार लागेन भनेका हुन्। मैले छलफल गरौंला भनेको थिएँ,’ नेपाललाई उद्धृत गर्दै नेता नेपालको कोटेश्वरस्थित निवासमा आइतबार भएको भेटघाटमा उपस्थित एक नेताले भने।

आफूले छलफल गरौंला भन्दा पनि उनीहरूले केपी शर्मा ओलीबाट पार्टी नचल्ने भन्दै चाँडै निर्णय गर्नुपर्ने जोड गरेको पनि नेता नेपालले बताएका थिए।

‘केपीले टेर्दै टेरेनन्, पार्टी नै चलाउन नसक्ने मान्छेलाई प्रधानमन्त्री राखेर कहाँ हुन्छ? कुनै पनि हालतमा हुँदैन तपाईं नै बन्नुपर्छ भन्ने वामदेव र विष्णु नै हुन्,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने।  

उनीहरूले त्यस्तो प्रस्ताव राखे पनि आफूले प्रधानमन्त्री बन्ने कुरालाई गम्भिरतापूर्वक नलिएको पनि नेता नेपालले बताएका थिए। आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर आएका नेताहरूले नै पछि दोहोरो भूमिका खेलेको पनि नेता नेपालले आरोप लगाएका थिए।  

‘जसले मसँग प्रधानमन्त्रीको प्रस्ताव लिएर आएका थिए, उनीहरूले नै दोहोरो भूमिका खेले,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री मेरो कुनै चाहना होइन, मैले पार्टीमा विधि र पद्धति बसाउन खोजेको हो।’

वामदेव गौतमको भैंसेपाटी निवासमा वैशाख ११ गते भएको बैठकमा विष्णु पौडेल पनि उपस्थित थिए।

प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित सो भेलामा सरकारले ल्याएको अध्यादेश गलत भएकोले फिर्ता लिनुपर्ने र स्थायी कमिटी बैठक बोलाउनु पर्ने सहमति भएको थियो। 

त्यही दिन गौतमले टेलिफोनमा प्रधानमन्त्री ओलीसँग कुरा गर्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए। नेता नेपालले सो भैंसेपाटी भेलाभन्दा धेरै अगाडि नै गौतम र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको आफू निकट नेताहरूलाई जानकारी दिए।   

नेपाल खेमाका नेताहरू अहिले आएर पौडेलले सुरूदेखि नै दोहोरो भूमिका खेलेको आशंका गरेका छन्। 

‘उनी भैंसेपाटी भेलामा कुरा बुझ्न आएको र दोहोरो भूमिका खेलेको देखियो,’ एक नेताले भने, ‘वामदेव गौतमलाई अन्तत: प्रधानमन्त्रीसँग निकट बनाउन पनि पौडेलले नै पछिल्ला दिनमा ठूलो भूमिका खेले।’  

उपाध्यक्ष गौतमले सचिवालयमा एक्कासि गुट परिवर्तन गरेर ‘युटर्न’ लिएर सचिवालयमा आफूहरू अल्पमतमा पर्ने भएपछि त्यहाँ विषय अगाडि नबढाएको पनि नेता नेपालले निकटहरूलाई ब्रिफिङ गरेका थिए। 

सचिवालयमा अल्पमतमा रहने प्रधानमन्त्री ओली शनिबार भने बहुमतमा थिए। पक्ष-विपक्षमा गएको भए ओली, गौतम, ईश्वर पोखरेल, पौडेल र रामबहादुर थापा एकातिर हुने थिए भने प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ अर्कातिर।

प्रधानमन्त्री ओलीले आत्मालोचना गरेकाले अरू धेरै विषयमा छलफल नभएको भनेर वरिष्ठ नेता नेपालले बताएको केन्द्रीय सदस्य निरज आचार्यले सेतोपाटीलाई जानकारी दिए।

‘स्थायी समितिमा जाने भनेपछि धेरै कुरा गरिएन। सरकार पार्टीमार्फत् चल्नुपर्छ। सरकारको नीति तथा कार्यक्रम र बजेट पार्टीको नीतिअनुसार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ नेपालको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘ओलीको आजसम्मको व्यवहार हेर्दा सच्चिनुहोला भन्ने लाग्दैन। अब जे जति सबै स्थायी समितिले गर्छ।’

छलफलमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले पार्टीलाई विधि र प्रक्रियामा चलाउने सहमति भएको जानकारी वरिष्ठ नेताले गराएको बताइन्।

‘यो पार्टीलाई विधि र प्रक्रियामा चलाउने लडाइँ हो। विधिमा चल्छ भने मिल्छ, नत्र मिल्दैन,’ नेपालको भनाइ उद्धृत गर्दै उनले भनिन्।

नेता नेपालले आइतबारको छलफलमा ‘आफू र प्रचण्डबीच कुनै मतभेद नरहेको र आपसी विश्वास नटुटेको’ भन्दै आश्वस्त पार्न खोजेको छलफलमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए।

‘हिजोको सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जाँदा प्रचण्डजीले मसँग सल्लाह गर्नुभएको थियो। उहाँहरूबीच स्थायी समिति बैठक डाकेर अघि बढ्नेबाहेक अरू कुनै समझदारी भएको छैन,’ छलफलमा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्थायी समिति सदस्यले भने, ‘मेरो र प्रचण्डजीको सहयात्रा जारी छ।’

नेपालले ‘पार्टीभित्रको गलत प्रवृत्तिविरूद्ध प्रचण्डसँग मिलेर लड्ने र आपसी समझदारीमै पार्टीलाई संगठित बनाएर लैजाने’ विश्वास दिलाएको ती सदस्यले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation