स्थायी समितिका १९ नेता दोहोरो जिम्मेवारी: एक व्यक्ति-एक जिम्मेवारी’ बहस

पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहले भने प्राप्त जिम्मेवारी तलमाथि गर्न खोजे समस्या आउने बताएको छ । योसँगै ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’ मुद्दा स्थायी समितिमा मुख्य बहस हुने सम्भावना देखाएको छ । 

पार्टी एकतापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यो विषय निरन्तर उठाउँदै आएको छ । प्रचण्ड–नेपाल समूहका नेताहरूले अबको स्थायी समिति बैठकबाट सरकार र पार्टीका समग्र कामको समीक्षासहित पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन त्यही नीतिलाई लागू गर्नुपर्नेमा जोड दिने तयारी गरेका हुन् । स्थायी समिति बैठक २५ वैशाखमा बोलाइएको छ । 

स्थायी समिति सदस्य युवराज ज्ञवाली भन्छन्–बारम्बार एक व्यक्ति : एक मुख्य जिम्मेवारी माथिदेखि तलसम्म लागू गर्नुपर्छ भन्दै आएका छौँ, कतिपयलाई काममाथि काम, कतिपयले जिम्मेवारी नै नपाउने स्थिति छ । दुई अध्यक्ष मिलेर सबै काम गर्ने, तर कमिटीलाई कुनै महत्व नदिने प्रवृत्ति सच्याउन खोजेका छौँ, कसैलाई विस्थापित गर्नेभन्दा पनि पार्टीलाई विधि र पद्धतिभित्र चलाऊँ भन्ने उद्देश्य हो ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीले सचिवालयले जस्तोसुकै निर्णय गरे पनि स्थायी समितिले खुलस्त छलफल गरेर विवेकसम्मत निर्णय गर्ने बताए । ‘हामीले बारम्बार एक व्यक्ति : एक मुख्य जिम्मेवारी माथिदेखि तलसम्म लागू गर्नुपर्छ भन्दै आएका छौँ, कतिपयलाई काममाथि काम, कतिपयले चाहिँ जिम्मेवारी नै नपाउने स्थिति छ । नियमित बैठक नडाकिने परिपाटी अन्त्य गरेर पार्टीलाई विधिसम्मत चलाउने, राजनीतिक नियुक्ति संस्थागत निर्णयका आधारमा गर्ने र महत्वपूर्ण निर्णय पार्टीबाट गर्नुपर्ने आवश्यकता छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘दुई अध्यक्ष मिलेर सबै काम गर्ने, तर कमिटीलाई कुनै महत्व नदिने प्रवृत्तिलाई हामीले सच्याउन खोजेका छौँ, यसको अर्थ कसैलाई विस्थापित गर्नेभन्दा पनि कसले कहाँ कमजोरी गरेको छ, समीक्षा र मूल्यांकन गरेर आत्मालोचित हुँदै पार्टी र सरकारलाई विधि र पद्धतिभित्र चलाऊँ भन्ने हाम्रो उद्देश्य हो ।’

अध्यादेश प्रकरणपछि पार्टी विभाजनको खतरा औँल्याएर स्थायी समिति बैठक माग गर्दै १० वैशाखमा अध्यक्ष ओली र प्रचण्डलाई मागपत्र बुझाउने स्थायी समितिका २० नेताले ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कडाइका साथ लागू गर्न माग गर्ने तयारी गरेका छन् । बैठक माग गर्दै हस्ताक्षर गरेका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीलाई संस्थागत ढंगले चलाउनुपर्ने माग भएकाले जिम्मेवारी बाँडफाँडको विषय बैठकमा उठ्ने बताए । ‘पार्टीलाई संस्थागत ढंगले चलाउनुपर्छ भन्ने माग पहिलेदेखि नै उठेको हो, त्यसकारण एक व्यक्ति : एक जिम्मेवारीको माग बैठकमा उठ्नेछ,’ उनले भने, ‘सरकारको दैनन्दिन कामबारे सोध्ने कुरा हुँदैन, तर महत्वपूर्ण निर्णयहरू पार्टीमा सल्लाह गरेर गर्ने, सबै व्यक्तिलाई जिम्मेवारी दिनेगरी चल्ने हो भने ठीकै हुन्छ ।’ 

ओली समूह भने प्रचण्ड–नेपाल समूहले उठाएजस्तै माथिदेखि तलैसम्म तत्काल ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’ लागू गर्नेभन्दा पनि आर्थिक वर्षको बजेटपछि केही मन्त्री र मुख्यमन्त्री हेरफेर गरेर अघि बढ्न सकिने विषयमा मात्र लचक बन्ने पक्षमा छ । त्यस्तो एजेन्डामा जनता र कार्यकर्ताको समर्थन नरहेकाले लागू हुनै नसक्ने ओलीनिकट नेताहरूको बुझाइ छ । ‘अहिले पनि एक व्यक्ति : एक पद नै हो, तर दुई अध्यक्षको जिम्मेवारी नै हेरफेर गर्न खोजिएको हो भने त्यस्तो सम्भव छैन, पहिल्यै छाडिसकेको नीति अहिले उठाउनुको अब अर्थ पनि छैन,’ नेकपाको सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले भने, ‘जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन सकिन्छ, तर प्राप्त जिम्मेवारीमा तलमाथि गर्न खोजेर समाधान ननिस्किने भएकाले त्यो निहुँ खोज्ने कुरा मात्र हुन्छ ।’ उनले त्यसरी निहुँ खोजिरहने प्रवृत्तिले पार्टी एकताबद्ध भएर अघि बढ्न नसक्ने पनि बताए । ‘निहुँ खोजिरहनुपर्छ भन्ने कार्यकर्ता र जनताको चाहना छैन, त्यसैले यस्ता नटिक्ने मुद्दा उठाएर पार्टी एकताबद्ध र बलियो हुने होइन,’ थापाले भने ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा भन्छन्–अहिले पनि एक व्यक्ति : एक पद नै हो, तर दुई अध्यक्षको जिम्मेवारी नै हेरफेर गर्न खोजिएको हो भने सम्भव छैन, पहिल्यै छाडिसकेको नीति अहिले उठाउनुको अर्थ पनि छैन । जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन सकिन्छ, तर प्राप्त जिम्मेवारीमा तलमाथि गर्न खोजेर समाधान ननिस्किने भएकाले त्यो निहुँ खोज्ने कुरा मात्र हुन्छ । #नया पत्रीकाबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation