१९ नेतालाई दोहोरो जिम्मेवारी: सचिवालय र स्थायी समितिका नेता

नेकपाभित्र एक व्यक्ति : एक मुख्य जिम्मेवारीबारे लामो समयदेखि मुद्दा उठ्दै आए पनि सम्बोधन भएको छैन । सचिवालयका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ दोहोरो जिम्मेवारीमा छन् । उपाध्यक्षको जिम्मेवारीमा रहेका गौतमले पार्टीभित्रको शक्तिशाली संगठन विभाग प्रमुख पनि सम्हाल्दै आएका छन् । करिब दुई दशक लगातार अखिल नेपाल किसान महासंघको समेत अध्यक्ष रहेका गौतमले विभाग प्रमुख बनेपछि भने राजीनामा दिएका थिए । 

त्यस्तै, पार्टी प्रवक्ता श्रेष्ठले प्रचार तथा प्रकाशन विभाग प्रमुख, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले स्कुल विभाग प्रमुख तथा राजकीय मामिला तथा सुशासन विभाग प्रमुख रहेका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् । 

उनीहरूबाहेक अहिलेको ४४ सदस्यीय स्थायी समितिका १५ नेता पनि दोहोरो मुख्य जिम्मेवारीमा छन् । जसअनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय विभाग प्रमुख, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा निर्वाचन विभाग प्रमुख, योगेश भट्टराईले पयर्टन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । जनार्दन शर्मा कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागमा उपप्रमुख छन् । 

त्यस्तै, कृषि तथा भूमिसुधारमन्त्री घनश्याम भुसालले प्रादेशिक मामिला विभाग, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा मानवस्रोत विभाग, ऊर्जामन्त्री वर्षमान पुनले जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण विभाग सम्हालेका छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहरी विकास विभाग, संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसदीय विभागको उपप्रमुखको दोहोरो जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सहकारी तथा गरिबी निवारण विभाग, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रदेश इन्चार्ज तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको त्यही प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । उता, गण्डकी प्रदेशका दोस्रो वरीयताका आर्थिक मामिलामन्त्री किरण गुरुङले पार्टीमा त्यही प्रदेशको सहइन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनीहरूबाहेक केन्द्रीय कमिटीमा रहेका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पार्टीमा त्यही प्रदेशको सहइन्चार्ज, खानेपानी तथा सरसफाइमन्त्री विना मगरले पार्टीमा खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । # नया पत्रीका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation