अल्मलियो सरकार ! लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरु निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो ।

विदेशबाट संक्रमण बोकेर मानिसहरु काठमाडौं आउने सम्भावना पनि छैन । अन्तराष्ट्रिय उडान चैत ९ गतेदेखि नै बन्द छन् । जेठ ३ गतेसम्म उडान खुल्ने सम्भावना पनि छैन ।

त्यसो हो भने काठमाडौं उपत्यकामा लकडाउन किन खुकुलो नबनाउने ? सर्वसाधारण मात्र होइन, जनस्वास्थ्य विज्ञहरु पनि यही प्रश्न गर्न थालेका छन् ।

उनीहरुमध्ये एक हुन् डा. समीरमणि दीक्षित । उनी भन्छन्, ‘अरु केही नगर्ने हो भने अर्को ६ हप्ता लकडाउन गरे पनि अवस्था त्यही रहन्छ । अनि कहिलेसम्म लकडाउन गर्ने ?’

४२ दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय ठप्प भएको छ । दीर्घरोगीहरुको नियमित उपचार रोकिएको छ । खोप लगायतका स्वास्थ्य कार्यक्रमहरु प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेहरु समस्यामा परेका छन् ।

‘यो सबैले मानिसहरुको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ र, कोभिड-१९ ले भन्दा अरु रोगका कारण धेरै मानिसहरु मर्ने अवस्था आउन सक्छ’ उनी भन्छन् ।

त्यसैले, अब काठमाडौं उपत्यकाको लकडाउन मोडल परिर्वतन गर्नुपर्ने उनको राय छ । अहिले नै सार्वजनिक यातायात, स्कुल, सिनेमा हलजस्ता भिडभाड हुने क्षेत्र खुला गर्न सकिँदैन’ डा. दीक्षित भन्छन्, ‘तर कृषि उत्पादन, ढुवानी, साना पसल, निर्माण क्षेत्रहरुलाई क्रमशः खुला गर्न सकिन्छ ।’

सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका छन् ।

नेता र मन्त्रीहरुले मानिसलाई काठमाडौं बाहिर पठाउने र बाहिर रहेकाहरुलाई ल्याउने गरेर लकडाउनको सिद्धान्त तोडेको उनीहरुको गुनासो थियो । अहिले पनि लुकिछिपी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको पनि उनीहरुले बताए ।

‘अहिलेसम्म हामी सुरक्षित छौं,’ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘अब यहाँबाट बाहिर जाने र बाहिरबाट यहाँ ल्याउने गल्ती नगरौं । एक चरण लकडाउन खुकुलो बनाऔं ।’

सरकारको तयारी : लकडाउन कायमै

विज्ञहरुले उपत्यकामा लकडान खुकुलो पार्न सुझाव दिइरहँदा सरकारले भने न कोरोना भाइरसको परीक्षणको दर बढाएर उपत्यकालाई सुुरक्षित क्षेत्र घोषणा गर्न सक्छ, न लकडाउनलाई कडाईपूर्वक लागू नै गर्न सकेको छैन ।

अनलाइनखबरलाई प्राप्त तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ७३५ र र्‍यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) विधिबाट ३३७९ मात्र परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको तुलनामा यो निकै कम हो ।

साथै उपत्यका बाहिरबाट मानिसहरु आउने क्रम पनि पूर्णरुपमा रोकिएको छैन । झन सरकारले २६ वैशाखबाट संसदको अधिवेशन बोलाएको छ भने निजी स्कुलहरुले २६ गतेबाट कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गरेर भर्ना खुला गर्न लागेकाले राजधानी छाडेर गएकाहरु पनि फर्किन थालेका छन् । कोरोनामा काठमाडौं उपत्यका सुरक्षित देखिर आउनेहरु पनि छन् । यसरी दैनिक एक-दुई हजार मानिस लुकिछिपी उपत्यका प्रवेश गर्ने गरेको अनुमान छ ।

यो कायम रहँदासम्म उपत्यकालाई ग्रिन (सेफ) जोन भन्न नसकिने जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षित बताउँछन् । उनले भने, ‘पहिले यहाँबाट गएका मानिसहरु फेरि फर्किन थालेका छन् । यो कायम रहँदासम्म ग्रिन जोन भन्न सकिन्न ।’

सरकारले कोरोनाको टेष्ट बढाएर नाकामा कडाइ गर्नुको साटो उपत्यकामा लकडाउनलाई लम्ब्याउने सम्भावना छ । उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले पनि २५ वैशाखपछि उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना नरहेको बताए ।

सोमबार बसेको समन्वय समितिको बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरी त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने प्रस्ताव पेश भएको छ । ‘तत्काल काठमाडौं उपत्यका ग्रिन जोन मै परेपनि लकडाउन खुकुलो बन्दैन’ एक मन्त्रीले भने ।

साभार अनालाइन खवर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation