प्रदेश ५ का सबै ल्याब बन्द मुख्यमन्त्री भने सत्ता पार्टीकाे आन्तरिक राजनितिमा व्यस्त

२३ बैशाख, बुटवल ।

 पछिल्लो समय कोरोना महामारीको केन्द्र बिन्दु बन्दै गएकाे प्रदेश नं. ५ को सरकार जनस्वास्थ्यप्रति गैरजिम्मेवार बन्दा जनतामा निराशा र आक्रोश थपिएको छ । प्रदेशको मुख्य शहर नेपालगञ्जमा कहालीलाग्दो ढंगले भाइरस संक्रमित फेला परेका छन्, तर परीक्षण भने सुस्त छ ।

पीसीआर प्रविधिबाट संक्रमणको परीक्षण तीव्र रुपमा बढाउनुपर्ने बेला प्रदेश सरकारले भने कुनै चासो देखाएको छैन ।हालसम्म करिब पाँच हजारको हाराहारीमा मात्र आरडीटी परीक्षण गरिएको छ । दुई दिनको अवधिमा दुई दर्जन बढी संक्रमित फेला परेको छन्, तर परीक्षणको दायरा भने बढेको छैन – प्रदेश नं. ५ , नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले दुखेसो गरिन् । यस्तो अवस्था आउनुमा मुख्यमन्त्री शंकर पोखरेलको गैरजिम्मेवारी नै मुख्य कारण हो– उनले भनिन् ।

अहिले परीक्षणको दायरा बढाउनुपर्ने बेला कीटको अभाव देखाएर ल्याब नै बन्द गरिएको छ । बढ्दो संक्रमण परीक्षण गर्न प्रदेश ५ मा कम्तिमा ८० हजार कीट आवश्यक छ– प्रादेशिक अस्पतालका प्रवक्ता डा. रोशनलाल चौधरीले बताए । तर अहिलेसम्म केवल १० हजार कीट मात्र पाइएको जानकारी पनि उनले दिए ।

यस्तो संवेदनशील घडीमा मुख्यमन्त्री पोखरेल भने सत्ता र पार्टीकाे राजनीतिमा अल्झिएकाले आवश्यक सामग्री प्राप्त नभएको कांग्रेस सचेतक क्षेत्रीको आरोप छ । प्रदेश नै कोरोना महामारीको चपेटामा परेका बेला प्रदेशका मुख्यमन्त्री भने सामान्य मुद्धामा अल्झिएका छन् । पार्टी राजनीतिमा फेसबुक र टुवीटरमा लडेर बस्दा उनको प्राथमिकता जनता हुन् कि पार्टी राजनीति भन्नेमा प्रदेशका सचेत नागरिकले प्रश्न उठाएका छन् । सार्वजनिक सरोकारको विषयमा मौन रहने तर पार्टीको आन्तरिक राजनीतिमा मुख्यमन्त्री पोखरेल व्यस्त रहदाँ प्रदेश सरकार र स्थानीय सरकार कै बीच समन्वयको पनि अभाव खट्किएको छ ।

कीटको अभावमा अहिले नेपालगञ्जमा संक्रमितसँग सम्पर्कमा रहेकाहरुको परीक्षण गर्न समेत पाइएको छैन । यो प्रदेशमा झण्डै १० हजार व्यक्ति क्वारेण्टाइनमा बसेका छन्, तर तिनको आरडीटी परीक्षणसमेत गर्न सकिएको छैन । प्रदेश ५ को नेपालगञ्जमा २३ र रुपन्देहीको मर्चबार क्षेत्रमा एक जना कोरोना पोजेटिभ पाइएका छन् । अहिले हटस्पट बनेको प्रदेश ५ मा परीक्षणको दायरा बढाउनु पर्नेमा कीटकै अभाव देखाइनु भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो–सचेतक क्षेत्री भन्छिन् ।

संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएकाले खतरा अझै बढेको भन्दै प्रवक्ता डा.चौधरीले भने– समुदायमा नै संक्रमण फैलिएको अवस्थामा परीक्षण बढाउन सकिएन भने भयावह स्थिति आउन सक्छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले पनि कीटको अभावमा प्रयोगशाला बन्द गरिएको र स्वाब परीक्षणका लागि काठमाडौं पठाउन थालिएको जानकारी दिए ।

यस्तो अव्यवस्थाको कारक मुख्यमन्त्री पोखरेललाई ठानिएको छ । नेकपा प्रदेश ५ को इञ्चार्जसमेत रहेका पोखरेल केन्द्रीय राजनीतिमा बढी सक्रिय हुने गरेकाले समस्या थपिएको मान्ने धेरै छन् । मुख्यमन्त्री पोखरेलले अर्थ जस्तो संवेदनशील मन्त्रालयसमेत आफैं कब्जा गरेर बसेका छन् । काम नगर्ने तर जिम्मेवारीको बोझ थप्ने प्रवृत्तिले प्रदेश आक्रान्त भएको छ– नेकपाकै एक केन्द्रीय नेताले भने ।

जनताका पीरमर्का भन्दा केपी ओलीको संकटमोचनमा बढी तल्लिन रहने भएकाले प्रदेश ५ मा समस्या थपिएको उनको धारणा छ । काम नगर्ने तर सामाजिक सञ्जालमा चर्का कुरा राखेर जनतालाई भ्रमित पार्ने उनको स्वभाव हो भन्दै ती केन्द्रीय सदस्यले भने – अनुदानको रकम समेत व्यापक दुरुपयोग गरेका छन्, तर जनतालाई भ्रम छर्न उनी उद्यत् देखिन्छन् ।

नेपालबहसबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation