नेकपाका दुवै समूह आ-आफ्नो रणनीतिमा व्यस्त

प्रधानमन्त्री ओली कोरोना, नीति तथा कार्यक्रम र बजेटबारे संक्षिप्त छलफल गर्ने पक्षमा, प्रचण्ड नेता, पार्टी र सरकार सञ्चालन प्रक्रियाको समीक्षा गर्ने तयारीमा 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् । तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ । 

मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त राजनीतिक प्रस्ताव तयार पार्न अध्यक्ष प्रचण्डलाई सुझाब नै दिएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेटेर बैठकमा उठाउने मुद्दा र बैठक छोटो गराउनेबारे परामर्श गरेका छन् । त्यस्तै, प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेका छन् ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने भएकाले बरु स्थायी समिति बैठक नै सार्न सकिने विकल्पसमेत प्रस्तुत गरेका छन् । तर, प्रचण्ड र नेपाल समूहका स्थायी सदस्यहरू जसरी पनि बैठक बस्ने पक्षमा छन् । 

बैठक छोटो बनाउने प्रधानमन्त्रीको प्रस्तावपछि स्थायी समितिका २० सदस्यले मंगलबार भेला गरेर बैठकमा सम्पूर्ण विषयमा छलफल गर्नुपर्ने रणनीति बनाएका छन् । उनीहरूले आफूहरूले पत्र लेखेर बोलाएको बैठक भएकाले त्यसैअनुसार एजेन्डा बनाएर छलफल गर्नुपर्ने माग दोहोर्‍याएका छन् । सरकार र पार्टी सञ्चालनका समग्र समीक्षा हुने गरी प्रतिवेदन नआउने संकेत पाएपछि स्थायी समितिको बैठक माग गर्ने सदस्यले मंगलबार ललितपुरको एक रेस्टुरेन्टमा झन्डै पाँच घन्टा छलफल गरेका थिए । 

भेलाले मुख्यगरी राजनीतिक विषयमा साझा धारणासहित बैठकमा एकीकृत रूपमा प्रस्तुत हुने सहमति गरेको छ । भेलामा बैठक माग गर्ने देव गुरुङबाहेक १९ नेता सहभागी थिए ।

‘प्रधानमन्त्रीले आलोचना हुन्छ भनेर संक्षिप्त बैठक राख्ने चाहना राख्नुभएको होला । तर, हामी यसअघि लिखित रूपमा प्रस्तुत गरेका विषयमा स्थायी कमिटीमा विस्तृत र गम्भीरतापूर्वक छलफल गरेर सहमति र निकास खोज्नुपर्छ भन्ने पक्षमा छौँ,’ स्थायी समिति सदस्य रघुजी पन्तले नयाँ पत्रिकासँग भने, ‘२० जना सबैका कुरा राख्ने आ–आफ्ना शैली छन्, विषय र एजेन्डालाई बुझ्ने आ–आफ्ना तरिका छन् । कतिपय आधारभूत कुरामा हाम्रा विचार साझा पनि हुन सक्छन्, बैठक माग्ने साथीहरू सबै मुख्य राजनीतिक विषयमा एउटै धारणासहित प्रस्तुत हुनेछौँ ।’ 

उनले राजनीतिक प्रतिवेदनले आफूहरूले राख्दै आएको विषय नसमेटे खुलस्त रूपमै मत राख्ने तयारी भएकोसमेत जानकारी दिए । ‘प्रतिवेदनमा समेटिएर आए धेरै राम्रो, नत्र हामी आफ्ना भनाइ खुलस्त राख्छौँ । हामीले कुनै स्थायी गुट बनाएका होइनौँ, बैठक माग्न अधिकार मात्र प्रयोग गरेका हौँ,’ पन्तले भने ।

प्रधानमन्त्री केपी ओली पक्षधर स्थायी समिति सदस्यहरू भने मुलुकको ध्यान कोरोना, नीति तथा कार्यक्रम र बजेटतर्फ केन्द्रित भइरहेका वेला सरकारको कमजोरी खोतल्ने वा नेतृत्वको विकल्प खोज्ने कुरा जनमतकै अपमान हुने बुझाइमा छन् । ‘अहिले कसैको त्यस्तो विचार हुँदैमा वा मेरो विचार हुँदैमा प्रस्तुत गर्ने उपयुक्त वेला होइन, त्यसरी सोच्नु कम्युनिस्ट आन्दोलनको अहितमा हुन्छ, त्यसरी सोच्ने कुराले कसको भलो गर्छ ? भोलि जनताका बीचमा म कम्युनिस्ट नेता हुँ भनेर को टिक्न सक्छ ?’ स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने । 

स्थायी समितिका अर्का सदस्य देवेन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने सन्दर्भमा बैठक माग गर्ने २० नेताका बीचमा मात्र नभएर प्रधानमन्त्री पक्षधर नेतासँग समेत अनौपचारिक छलफल चलिरहेको बताए । ‘कसरी जाने, पार्टीलाई कसरी एकताबद्ध बनाउने विषयमा सबै नेतासँग भेटघाट भएको छ, प्रधानमन्त्रीनिकटका नेतासँग पनि कुराकानी भएको छ,’ पौडेलले भने, ‘एकता तलमाथि हुन दिनुहुन्न भन्नेमा सबैको एकमत छ, गल्तीलाई महसुस गर्नुपर्‍यो, कार्यविभाजन, सरकारको काम, अध्यादेश प्रकरणसहितका विषयमा समीक्षा गरेर जानुपर्छ भन्ने कुराकानी भइरहेको छ ।’ उनले पनि राजनीतिक प्रतिवेदनले विषय नसमेटे खुलस्त ढंगले नै कुरा उठाइनेसमेत बताए ।

राजनीतिक दल तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण पार्टी विभाजनको मनोविज्ञान सिर्जना भएको भन्दै स्थायी समितिका २० जना सदस्यले १० वैशाखमा तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । उनीहरूको दबाबपछि २० वैशाखमा बसेको सचिवालय बैठकले २५ वैशाखमा बैठक बोलाउने निर्णय गरेको थियो । बैठकमा पेस हुने एजेन्डा तयका लागि सचिवालय बैठक बुधबार बस्दै छ । #नया पत्रीका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation