प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता झलनाथ खनालले भने– पार्टी निर्णयलाई सर्वोपरी मानेर सरकार चलाउनुस्

नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णयलाई सर्वोपरी मानेर सरकार र पार्टी चलाउन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता खनालले त्यस्तो आग्रह गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भने अहिले मुलुक अप्ठ्यारो स्थितिमा रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा वरिष्ठ नेताको हैसियतमा सन्तुलित र समन्वयकारी भूमिका खेल्न खनाललाई आग्रह गरेका थिए । पार्टीभित्र अध्यक्ष प्रचण्डसँग प्रायः नियमित तथा अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग बढी परामर्श गर्दै आए पनि प्रधानमन्त्री ओलीले खनालसँग भने करिब ६ महिनापछि छुट्टै भेटवार्ता गरेका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा मेरो साथ र सहयोग हुन्छ, तर पार्टीले जे निर्णय गर्छ, जस्तो निर्देशन दिन्छ, त्यसलाई सर्वोपरी मानेर तपाईं चल्नुस्,’ खनालको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘पार्टीले नै तपाईंलाई प्रधानमन्त्री बनाएकाले दायाँ–बायाँ नगरी तपाईंले पार्टी निर्णय कार्यान्वयन गर्नुपर्छ, त्यसैले स्थायी समितिले गरेको निर्णय मानेर सरकारलाई पनि विधि, प्रक्रियाअनुसार चलाउनुपर्छ र कमजोरी पनि स्वीकार गर्नुपर्छ ।’#नया पत्रीका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation