वीरगन्जमा एकै परिवारका १८ जना संक्रमित घरै सुनसान

छप्कैया बस्ती वीरगन्ज महानगरपालिका- १, २ र ३ मा फैलिएको छ।छप्कैयाको स्थिति बुधबार बिहानसम्म सामान्य थियो। लकडाउनले मान्छेहरू आ-आफ्नो घर बसे पनि चहलपहल सुनिन्थ्यो। बुधबार एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले छप्कैया बस्ति सुनसान छ। बुधबार देखिएका १७ जना संक्रमित परिवार वडा नम्बर ३ का हुन्।

उनीहरूलाई वीरगन्जको नारायणी अस्पताल भर्ना गरिएको छ, जहाँ परिवारका अर्का एक सदस्य गत आइतबारदेखि भर्ना छन्। परिवारका सबैलाई कोरोना देखिएर अस्पताल ल्याएपछि उनीहरूको घर रित्तो छ। ‘अघि भर्खरै मात्र सबैलाई अस्पताल लगियो। अहिले उहाँहरूको घरमा कोही पनि नभएकाे वडा नम्बर ३ का अध्यक्ष बैजु स्वर्णकारले जानकारी दिए। संक्रमित मध्ये दुईमहिने शिशु पनि छन्। उनी बेलाबेला रोएको आवाज अब केही दिन अस्पतालमै सुनिनेछ।यस परिवारका ३६ वर्षीय सदस्य गत आइतबार नै अस्पताल भर्ना भएका हुन्। उनलाई संक्रमण पुष्टि भएपछि नै परिवारका बाँकी १७ जनालाई परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

सुरूमा संक्रमण देखिएका पुरुषले वडाध्यक्ष स्वर्णकारसँगै परीक्षण गराएका थिए। आफूले नै फोन गरेर परीक्षण गर्न बोलाएको अध्यक्ष स्वर्णकारले सेतोपाटीलाई बताए। ‘उहाँको बुवाले मेरो छोराको पनि परीक्षण गराइदिनू है भन्नुभएको थियो। त्यसैले गत शुक्रबार मैले परीक्षण गरेपछि उहाँले आफ्नो छोरालाई पठाइदिनुभयो,’ उनले भने, ‘आइतबार नतिजा आउँदा मेरो नेगेटिभ, उहाँको छोराको पोजेटिभ देखियो।’ अहिले तिनै छोरालाई परीक्षण गर्न पठाउने बुवासँगै परिवारका १७ जना सदस्यमा कोरोना देखिएको छ। वडाध्यक्ष स्वर्णकारका अनुसार गत वैशाख १४ गते महानगरका एक कर्मचारीलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरू भएको थियो। उनी आफैं पनि संक्रमितको सम्पर्कमा पुगेकाले परीक्षण गर्ने सूचीमा परे।

वडाध्यक्षलाई भनसुन गर्दा सजिलो हुन्छ भनेर होला, संक्रमित परिवारका बुवाले आफ्ना छोराको पनि परीक्षण गराइदिन अध्यक्षसँग आग्रह गरेका थिए। छोरा फर्निचरमा काम गर्ने भएकाले कतै संक्रमितसँग सम्पर्कमा पुगे कि भनेर बुवालाई चिन्ता थियो। उनले छोरालाई परीक्षण गर्न भने पनि परिवारका सदस्यहरूभित्रै संक्रमण सल्किँदै गएको थियो। पहिले छोरामै संक्रमण देखियो। पछि परिवारका सबै सदस्यमा कोरोना पोजेटिभ देखिएपछि कोबाट संक्रमण फैलियो यकिन छैन।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार सुरूमा संक्रमण देखिएका पुरुषले आफू कतै बाहिर नगएको बताएका छन्। उहाँले आफू बाहिर नगएको भन्नुभएको छ। त्यसैले संक्रमण कसरी सर्यो भन्ने यकिन गर्न गाह्रो छ,’ उनले भने। वडाध्यक्ष स्वर्णकार पनि संक्रमित पुरुष बाहिर नगएको बताउँछन्। ‘उहाँ एकचोटि राहत वितरण गर्न बसेको सर्वदलीय बैठकमा कुनै पार्टीको प्रतिननिधि भएर आउनुभएको थियो, तर १० मिनेट जति बसेर गइहाल्नुभयो,’ उनले भने।

संक्रमित परिवारको घर आफ्नो घरबाट २ सय मिटर दुरीमा रहेको भन्दै उनले परिवारका सदस्य पनि बाहिर नगएको बताए। ‘उहाँहरू नमाज पनि घरमै पढ्नुहुन्थ्यो। सबै जना बुझ्ने हुनुहुन्थ्यो। खोइ कसरी यस्तो भयो,’ उनले भने। बुधबार वीरगन्जका यी १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ। तीमध्ये २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ।

##सेताेपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation