प्रचण्ड-नेपाल निकट स्थायी सदस्य :प्रधानमन्त्री डराएर बैठकबाट भाग्नु भाे

काठमान्डाै

नेकपा अर्का अध्यक्ष (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। वैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री ओली नै रहेको उनीहरूको ठहर छ।

वरिष्ठ नेता नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुषालले प्रधानमन्त्री डराएकै कारण बैठक स्थगित गरिएको बताए। ‘उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्न पर्छ भनेर डराएकै त होला नि। अरू त के हुन्छ र? बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो,’ भुषालले भने, ‘बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो। उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो।’बैठकको अध्यक्षता गरेकै व्यक्ति हिँडेपछि अरूलाई केही भन्ने ठाउँ नरहेको समेत उनले बताए। ‘बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको यो गतिविधिले नकरात्मक सन्देश गएको छ।’

प्रचण्डनिकट स्थायी समिति सदस्य मातृका यादवले पनि प्रधानमन्त्रीले बैठकको सामना गर्न नचाहेको आरोप लगाए। ‘पार्टी एकता सुदृढ गर्न र अहिले जनतामा उठेका सवालको जवाफ दिन पनि बैठक अनिवार्य थियो। त्यसले समग्र पार्टी र सरकारलाई फाइदा हुन्थ्यो,’ यादवले भने, ‘यसले राम्रो गरेको छैन। पार्टी र सरकार सबैका लागि ठीक भएन। बैठक सारेर समस्या समाधान हुँदैन। बैठकमा स्पष्ट पार्नुपर्थ्यो, त्यो भएन।’ आफूले बुझेअनुसार प्रधानमन्त्रीकै चाहनाले गडबढ भएको र स्थायी समिति बैठक समेत सारेको उनले बताए। प्रधानमन्त्री सचिवालय बैठकमै नबसेको उनको भनाइ छ।

वरिष्ठ नेता नेपालनिकट अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बैठकको विकल्प बैठक मात्रै भएको बताए।’बैठक त डाक्नै पर्‍यो नि। बैठक भोलि सर्ला, तर पर्सि भए पनि राख्नपर्‍यो। बैठक पनि सारेर हुन्छ,’ उनले भने,’बैठक बस्नैपर्छ, त्यसको उपाय नै छैन। किनभने बैठकको कुरा बैठकले नै समाधान गर्छ।’ बैठक किन सारिएको भनेर आफूलाई थाहा नभए पनि प्रधानमन्त्रीले तनाव भएको कुरा देखाएर सारेको जानकारी आफूले पाएको यादवले बताए। ‘मलाई तनाव छ, तिमीहरू साराले गाली गर्न बैठक बोलाएका हौ भनेर प्रधानमन्त्रीका भनाइ सचिवालयका सदस्यहरूले भनेको सुनेको हो मैले,’ उनले भने, ‘गाली गरे पनि, प्रशंसा गरे पनि सुन्नै पर्‍यो। कि त पदमा बस्नै भएन। पदमा बसेपछि गाली पनि आउँछ, ताली पनि आउँछ।’

प्रचण्डनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने पार्टीमा सल्लाह नपुगेको भन्दै प्रधानमन्त्री ओलीले बैठक सारेको जानकारी आफूले पाएको बताए। ‘उहाँले दुई-तीन दिनपछि राखौं भन्नुभयो अरे। उहाँले अहिले सल्लाह पनि पुग्या छैन भनेको मैले थाहा पाएँ,’ उनले भने, ‘बैठक किन सारियो भन्ने कुरा हामीले भन्नै पर्दैन, सबैलाई थाहा छ।’ प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई ‘तपाईंसँग पनि कुरा बाँकी छ, त्यही भएर बैठक सारौं’ भनेको जानकारी आफूले पाएको समेत उनले बताए।

‘बैठक त राख्नुपर्छ। सायद बैठकमा गर्नुपर्ने सामना पछाडि धकेल्न खोज्नुभएको होला,’ उनले भने, ‘पार्टीभित्र संघर्ष जारी छ। अवतरण भइसकेको छैन। मिल्न पर्छ, सच्याउन पर्छ भने पनि यो मूर्त रूपमा आउन सकेको छैन। कसरी ल्याउने भनेर उहाँले सोच्नुभएको होला।’ प्रधानमन्त्री ओलीनिकट स्थायी समित सदस्य रघुवीर महासेठले भने स्थायी समिति बैठकको तयारी नपुगेको बताए।

‘तयारी नपुगेरै बैठक स्थगित गरिएको हो। निकट भविष्यमै हुन्छ होला,’ उनले दावी गरे, ‘प्रधानमन्त्रीले सार्न खोज्नुभएको होइन, तयारी नपुगेको हो। दुई अध्यक्षमा जति पर्याप्त छलफल हुनुपर्थ्यो त्यो छलफल हुन नसकेर हो।’

##सेताेपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation