निको भएकामा पुन: संक्रमण देखिनु चुनौती

कोभिड–१९ विरुद्ध शरीरमा एन्टिबडी नबनेका व्यक्तिमा पुन: संक्रमण हुने सम्भावना बढी

वैशाख २५, २०७७

काठमाडौँ — कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका तीन जनामा पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ देखिनुलाई चिकित्सकहरूले चुनौतीका रूपमा लिएका छन् । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एक जना र वीरगन्जका दुई जनामा पुन: कोभिड–१९ पोजिटिभ देखिएको हो । निको भएर घरमै बसेका उनीहरूको फलोअपमा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

हाल उनीहरू आइसोलेसनमा छन् । आइतबार पठाएको घाँटीको र्‍यालको पीसीआर परीक्षणसमेत पोजिटिभ देखिएको छ, मंगलबार संकलन गरिएको नमुनाको रिपोर्ट आउन बाँकी छ,’ नारायणी अस्पताल वीरगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले कान्तिपुरसँग भने । वीरगन्जका ती दुवै व्यक्तिको ८, १० र १२ वैशाखमा तीनपटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । दुईमध्ये एक जना भारतको दिल्ली निवासी र अर्का रौतहतका हुन् ।

पाटन अस्पतालका अनुसार त्यहाँ उपचार गरेर निको भई घर फर्केका एक जना व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । ‘आज (बुधबार) बिहान सनसिटीका पहिले संक्रमित भएका तीनै जनालाई फलोअपमा बोलाएर पीसीआर परीक्षणका लागि नमुना संकलन गरेका छौं,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले भने, ‘रिपोर्ट नआउँदासम्म उनीहरू आइसोलेसनमा रहनेछन् ।’

निको भइसकेका व्यक्तिमा पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ देखिएकाले यसबारे विस्तृत खोज अनुसन्धान आवश्यक रहेको डा. उपाध्यायले बताए । ‘प्रयोगशालाको त्रुटिले भएको हो या पुन: संक्रमण वा केही अन्य केही,’ उनले भने, ‘यसबारे थप विस्तृत अनुसन्धान गर्नुपर्छ ।’

नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार वीरगन्ज र पाटनमा रहेका तीनै जनामा कोरोनाको कुनै लक्षण देखिएको थिएन । ‘दक्षिण कोरियामा भएको अध्ययन हेर्दा यो केस पुन: संक्रमणको सम्भावना भएजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘शरीरमा भएको मृत भाइरसले गर्दा ४ देखि ८ प्रतिशत केसमा पीसीआर पोजिटिभ देखिन सक्छ ।’

करिब एक साताअघि भर्चुअल पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै भनेको थियो, ‘कुनै व्यक्ति संक्रमणबाट निको भइसकेपछि पुन: उसमा यो संक्रमण हुँदैन भन्ने कुनै तथ्य छैन ।’ नेपालको सन्दर्भमा हालसम्म फरक प्रकारको रोगको विस्तार, लक्षण भएकाले यसबारे थप अध्ययन हुनुपर्ने आवश्यकता देखिएको विज्ञहरू बताउँछन् । ‘जो कोभिड संक्रमणबाट निको भएको छ, उसमा भाइरससँग लड्ने एन्टिबडी रहन्छ,’ मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा. ओममूर्ति अनिल भन्छन्, ‘तर कोभिड–१९ भाइरसको एन्टिबडी भएका व्यक्तिमा पुन: यो संक्रमण हुँदैन भन्ने कुनै प्रमाण छैन ।’

दक्षिण कोरिया, चीनलगायतका मुलुकमा पुन: संक्रमणका घटना भएका छन् । नेपालले समेत आफ्नो क्षमताअनुसार यसमाथि अध्ययन गर्नु आवश्यक रहेको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्र कोभिड–१९ विरुद्घ शरीरमा एन्टिबडी नबनेका व्यक्तिमा पुन: संक्रमण हुने सम्भावना बढी हुने बताउँछन् ।

चिकित्सकका अनुसार कोभिड–१९ शरीरको श्वासप्रश्वास प्रणाली, पाचनप्रणाली, मिर्गौला, अण्डकोषलगायतका ठाउँमा रहेको ‘एस–२’ रिसेप्टर भएका कोषमा लुकेर बस्न सक्छ । यसरी लुकेर रहेको यो भाइरस पुन: सक्रिय हुन सक्ने सम्भावना रहन्छ । तर जुन व्यक्तिमा यसको विरुद्घ पर्याप्त मात्रामा एन्टिबडी बनेको हुन्छ, त्यस्तो अवस्थामा भाइरस नष्ट हुन सक्छ ।

‘तर शरीरमा एन्टिबडी नबनेको अवस्थामा विभिन्न अंगमा सुषुप्त रहेको कोभिड–१९ सक्रिय भएर पुन: संक्रमण गराउन सक्छ,’ डा. मिश्र भन्छन् । उनका अनुसार कोभिड–१९ बाट निको भएका बिरामीलाई २४ घण्टाको अन्तरालमा दुईपटक संकलित स्वाबको पीसीआर परीक्षणमा नेगेटिभ देखिनुबाहेक अन्य परीक्षणसमेत गर्नु राम्रो हुन्छ । पीसीआरबाहेक अन्य परीक्षणअन्तर्गत एन्टिबडी जाँच, रगतमा र दिसामा भाइरसको जाँच गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation