बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ६५० को नमूना संकलन

थप ३४ जनाको कोरोना रिपोर्ट पनि ‘नेगेटिभ’

२०७७ वैशाख २६ गते

२६ वैशाख, बुटवल । एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका-८ जोलाहनपुरवाका ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

नेपालगन्ज-८ का ६० वर्षीया पुरुषमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्क भएका सोही वडामा पहिलो चरणको परीक्षणमा १५ जना  र त्यसपछि ७ गरी २२ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

उनीहरु सबैको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब परीक्षण गर्दा बुधबार ३४ जनाको र बिहीबार पनि ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिए ।

बिहीबार संक्रमितको सम्पर्कमा रहेका थप १५२ जनासहित हालसम्म कूल ६५० जनाको नमूना संकलन गरिएको उनले बताए । संकलित नमूना मध्ये थप ३४ जनाको स्वाब परीक्षण भइरहेको र ११६ जनाको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

नेपालगन्ज-८ स्थित अन्सारी मस्जिदका ६० वर्षीय मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पुरै टोल सिल गरेर पहिलो चरणमा ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त ९० स्वाब परिक्षण गर्दा २२ जनामा कोरोना भेटिएको थियो ।

दोस्रो चरणमा फेला परेका १५ जनाको कन्ट्याक्ट टे्रसिङ्ग गरी मंगलबार ५६ जनाको स्वाब संकलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation