आक्रामक विपक्षीः ओलीले राजिनामा दिनु पर्छ भट्टराइ, शासन गर्ने नैतिक आधार गुमायाे देउवा, दुइ तिहाइ दुइ काैडीकाे काम गरेन महत्ताे

काठमाडौं : संघीय संसद्को बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी सरकारप्रति आक्रामक देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको दाबी गरे। नवगठित जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा नै मागे।

सरकारले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै उनीहरूले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आलोचना गरेका हुन्। देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने बेला सरकारले अलोकतान्त्रिक र संविधानविपरीतका गतिविधि गरेको आरोप लगाए।

‘अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावनाविपरीत क्रियाकलापमा व्यस्त रहनु, सांसदको अपहरण हुनुजस्ता अवाञ्छित र आपराधिक गतिविधि कुनै पनि रूपले स्वीकार्य हुन सक्दैनन्’, उनले भने, ‘यी विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सूक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको छ।’

उनले कोरोनाबाट विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउने दिशामा सरकारले सुरसारै नगरेको भन्दै आपत्ति जनाए। लकडाउनका बेला राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुमा प्रधानमन्त्रीको ‘नियोजित नियत’ लुकेको आरोप उनले लगाए। ‘सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’, उनले भने। सांसद ‘अपहरण’मा कुनै न कुनै रूपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्य भएको उनको भनाइ थियो।

सांसद राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाएका छन्।  बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महतोले यस्तो आरोप लगाएका हुन्। ‘आज मैले धेरै कुरा केही भन्नु छैन’, सांसद महतोले भने, ‘दुई तिहाइको सरकार दुई कौडीको काम गरेन।’ 

महतोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले काम नगरेको भन्दै जनताको रक्षा गर्न सरकारसँग माग गर्दै यस्तो बताएका हुन्। उनले सदनमा बाेल्दै भने सरकार ‘नेपाली नागरिकको जीवन रक्षा गरिदेऊ, नेपाली नागरिकलाई बचाऊ, सरकार नेपाली जनता संकटमा छन्। कोरोना संक्रमणबाट नेपालीको रक्षा गर।’ 

महतोले महामारीको समयमा पनि भ्रष्टाचार भएको भन्दै आपत्ति जनाए। ‘महामारीको समयमा पनि भ्रष्टाचार रे ! त्यो पनि उठाउँदिन। वाइडवडीमा के भो त्यो पनि उठाउँदिन। घरघरमा पाइपको लाइन पुग्यो कि पुगेन त्यो पनि उठाउँदिन। एजेन्डा र क्षमता नभएको सरकारसँग के माग्ने’, उनले सरकारका पछिल्ला गतिविधिप्रति कटाक्ष गर्दै भने, ‘यो सरकारले दिन पनि के सक्छ  ? गुण्डा लगाएर अपहरण गर्छ। विपक्षीलाई तह लगाउने रे ! कुर्सी पाउन र जोगाउन चाहिँ सिपालु छ। यो सरकार।’ 

उनले संकटको समाधान गर्न सरकार लागि नपरेको भन्दै अधिकांश समय सरकारको चर्को आलोचना गर्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भने प्रशंसा गरेका छन्।  

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले कोरोनाविरुद्धको लडाइँमा जित्ने आधार बजेट अधिवेशनले तय गर्नुपर्ने बताए। सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले कोरोेनाले पुर्‍याएको क्षति र नकारात्मक असरलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। विपक्षी दलले सांसद अपहरणको कुरा गरेकाले त्यससम्बन्धी यथार्थ अधिवेशनकै क्रममा खुल्ने उनले बताए। ‘सांसद अपहरणसम्बन्धी विषय उठेकोे छ, यो संसद् चल्दाचल्दै यथार्थ आउँछ’, उनले भने, ‘हामी कुनै आपराधिक कार्यका पक्षमा छैनौं।’

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्नेछ। कोरोना भाइरसबाट जोगिन भौतिक दूरीसहितको बसाइ, मास्क र कोरोना संक्रमण नभएको सांसदहरुको रिपोर्टसहित बैठक बसेको थियो। अर्को बैठकदेखि प्रि-बजेटमाथि छलफल हुनेछ। राष्ट्रियसभाको अर्को बैठक पनि वैशाख २८ गते तय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation