बाणगंगाकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण देखिएपछि डेरी उद्योग सिल, दूध बोक्ने ट्याक्कर नियन्त्रणमा

कपिलवस्तु, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।  बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बालिकाको घाटी सम्बन्धी समस्या रहेको थियो । हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बालिकालाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने अझै पुष्टि भएको छैन । बालिका हजुरबुवा र आमा दूध बोक्ने ट्याक्करमा बैशाख २७ गते काठमाडौं गएका थिए । दूध बोक्ने ट्याक्कर र चालकलाई नियन्त्रणमा लिई चालकलाई होम क्वारेन्टाइमा राखिएको बाणगंगा ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिनुभयो । दूध बोक्ने अर्को ट्याङ्करलाई नियन्त्रणमा लिइने तयारी भइरहेको छ ।

  गजेहडा स्थित ट्वीन्स डेरी उद्योगलाई प्रहरीले सिल गरेको छ । बाणगंगा ४ की बालिकामा संक्रमण देखिएपछि वडा अब कसरी सुरक्षित रहने सम्बन्धमा मिटिङ्ग बसेर निर्णय गर्ने तयारी भइरहेको छ । संक्रमित बालिका बाणगंगा स्थित एक निजी विद्यालयमा अध्ययन गर्दथिन ।  

 आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् ।  कपिलवस्तु कोरोना संक्रमणको हटस्पोट बनेसँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या बिहीबार विहान सम्म ४० पुगी सकेको छ । बाणगंगा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको छ । यसरी कोरोना संक्रमित हुनेहरु अधिकांस भारतबाट चोरबाट हुँदै लुकीछिपी आएकाहरु रहेका छन्

साभार प्रेसपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation