नक्सा सच्चियो, अब संविधान संशोधन हुने

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ । र, यसका लागि संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गरी निशान छाप फेर्नुपर्ने हुन्छ ।

त्यसका साथै अब विभिन्न सरकारी कार्यालय र दूताबासहरुले प्रयोग गर्ने नेपाल सरकारको लोगो परिवर्तन गरी नयाँ नक्शाका आधारमा बनाउनुपर्ने भएकाले सबै सरकारी कागजातहरु सच्याउनुपर्ने भएको छ ।

त्यस्तै विद्यालयका पाठ्यक्रमहरुमा पनि नयाँ नक्शा अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं मन्त्री डा. युवराज खतिवडाले संविधानको अनुसूची लगायत सरकारी लोगो प्रयोग गर्ने सबै ठाउँमा सच्याएर नयाँ नक्शा अनुसार बनाइने प्रतिक्रिया दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालकाे नक्सा सच्चाउने निर्णय  गरेको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक काम भएको बताएका थिए ।

यसैवीच सरकारको नीति तथा कार्यक्रममाथि उठेकमा प्रश्नहरुबारे जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले नक्सा परिमार्जनबारे संसदलाई औपचारिक जानकारी दिने कार्यक्रम रहेको स्रोतले बतायो ।

अनलाइन खबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation