गोवाबाट मुख्यमन्त्रीलाई पत्र : भोट र नोट चल्ने, दुःखमा उद्दार नगर्ने ?

भारतका विभिन्न प्रान्तबाट ६ लाख नेपाली स्वदेश फर्कने पर्खाईमा

८ जेठ, बुटवल । कोरोना संक्रमणको कारण रोजगारी गुम्ने खतरा बढेपछि भारतका विभिन्न प्रान्तमा बस्ने ६ लाख नेपाली स्वदेश फर्कने पर्खाईमा रहेका त्यहाँ रहेका नेपाली अगुवाले बताएका छन् ।

भारतमा रहेका नेपाली विगत तीन महिनादेखि कामविहीन भएकाले अब खाना खर्च सकिने अवस्थाले पिरोलिएका छन् । उनीहरुले नेपाल सरकार र प्रदेश सरकारले प्रवासी नेपालीलाई फर्काउने ठोस पहल नगरेको भन्दै आक्रोशसमेत ब्यक्त गरेका छन् ।

मुम्बईको एक बसपार्कमा सवारी कुरिरहेका प्रवासी नेपाली । तस्वीर सौजन्य : सुनील रावत अनलाइन खबरबाट

भारतको गोवामा लामो समयदेखि बस्दै आएका दाङका सुनील रावतका अनुसार कोरोना संक्रमणका कारण भारतमा जारी रहेको लकडाउनका कारण विभिन्न प्रान्तमा रहेका हजारौं नेपालीहरुको रोजगारी गुमिसकेको छ । कैयौं नेपाली बेखर्ची हुन थालेका छन् ।

रावतका अनुसार भारतका विभिन्न प्रान्तमा करिब ६ लाख प्रवासी नेपाली छन् । गोवा प्रान्तमा मात्र आठ हजार नेपालीहरु स्वदेश फर्कन चाहेका उनले बताए । तर लकडाउनको कारण उनीहरु बाहिर निस्कन पाएका छैनन् । कलकारखाना बन्द भएपछि उनीहरुको रोजिरोटी समेत खोसिएको छ ।

कालापानी र लिपुलेकको पछिल्लो सीमाना विवादले भारतमा नेपालीलाई गर्ने ब्यवहारमा समेत फरक पर्न थालेको रावत बताउँछन् । गुजरात तथा मुम्बइमा रहेका नेपालीलाई भारतीयले दुर्व्यवहार गर्न थालेका छन् ।

अनलाइन खबरबाट

लकडाउनपछि रोग र भोकको शोकले गुजरात र मुम्बईमा पाँच जना नेपालीले आत्महत्या गरिसकेको रावतले बताए ।

रावतका अनुसार भारतको उत्तराखण्डबाट ५० हजार, पञ्जाबबाट ८ हजार, हरियाणाबाट ५ हजार, राजस्थानबाट १५ हजार, हिमाञ्चलबाट २० हजार, छत्तिसगढबाट ५ हजार, उत्तरप्रदेशबाट २० हजार, मध्यप्रदेशबाट ६ हजार, जम्मुकश्मीरबाट १० हजार, कर्नाटकबाट ४० हजार, केरलाबाट २० हजार, तमिलनाडुबाट ७ हजार र पश्चिम बंगालबाट ४० हजार प्रवासी नेपालीहरु नेपाल फर्कने पर्खाईमा छन् । तर नेपाल सरकारले ठोस पहल नगर्दा उनीहरु फर्कन नसेको रावतले बताए ।

गुजरातमा बस्दै आएका नेपाली युवा सुरत विश्वकर्माका अनुसार त्यहाँ ७० हजार प्रवासी नेपालीहरु नेपाल फर्किने ब्यग्र प्रतीक्षामा छन् । त्यस्तै मुम्बई निवासी धिरेन सिंहका अनुसार मुम्बईका दुई लाख र दिल्लीका दुई लाख नेपाली प्रवासीहरु नेपाल फर्कन चाहेका छन् ।

दाङ घर भएका सुनील रावतले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो क्षेत्रका मानिस फर्काउन पहल गर्नुपर्ने बताए । रावतले भने, ‘मैले मुख्यमन्त्री शंकर पोखरेललाई पत्र लेखेर प्रवासी नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको हुँ, तर त्यसबारे कुनै प्रतिक्रिया पाएको छैन ।’

मुख्यमन्त्रीले लेख्ने फेसबुक स्टाटसको अध्ययन गर्ने गरेको भन्दै रावतले भने, ‘मुख्यमन्त्रीज्यूको स्टाटसहरु हेर्ने गरेको छु, तर भारतमा रहेका नेपालीलाई फर्काउने भन्दा उतै सुरक्षित बसुन् भन्ने आशय उहाँले ब्यक्त गरिरहनुभएको छ ।’

रावतले प्रतिप्रश्न गर्दै भने, ‘प्रवासी नेपालको भोट र नोट चल्ने तर उनीहरुलाई आपत पर्दा उद्दार गर्न नेपाल सरकारले नसक्ने ?’ उनले भने । नेपाल फर्किदा सीमामा हुने अवरोधले नेपालीहरु लुकिछिपी भित्रिने गरेको र त्यसले झन् बढी कोरना संक्रमणको खतरा बढेको उनको भनाइ छ । भारतका प्रान्त सरकारहरुसंग समन्वय गरेर नेपाल सरकारले आफ्ना नागरिक फर्काउनुपर्ने धारणा उनले राखे ।

अनलाइनखवरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation