संविधान संशोधनका लागि जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

काठमाडौँ । सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेको बेला त्यसमै आफ्ना मुद्दा सम्बोधन हुने गरी संशोधन हुनुपर्ने भन्दै जनता समाजवादी पार्टी कस्सिएर लागेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग छलफल गरेको जसपा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै छलफल गर्ने तयारी गरिरहेको जसपा नेपालका नेता राजकिशोर यादवले बताए । उनले भने, ‘सरकारले संविधान संशोधन गर्न लागेको छ, यो राम्रो कुरा हो । हामीले पनि संविधान संशोधनबारे पहिलादेखि केही कुरा उठाउँदै आएका छौँ, यही मौकामा त्यो पनि प्याकेजमै संशोधन गर्नुपर्ने भनेर आग्रह गर्न लागेका छौंँ ।’

यस विषयमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको शीर्ष नेताहरुको छुट्टै बैठक बसेको थियो भने तत्कालिन समाजवादी पार्टीको पनि यसै विषयमा छलफल थियो । जसपा नेपालले अहिले सम्पूर्ण ध्यान संविधान संशोधनमा केन्द्रीत गर्ने निर्णय गरेकोे छ । त्यसैका लागि सम्बन्धित सबै पक्षसँग छलफल गर्ने तयारी आफूहरुले गरिरहेको नेता यादवले बताए ।

यस विषयमा काँग्रेससँग पुनः एकपटक छलफल गर्ने र त्यो छलफलबाट निस्केको निष्कर्षका आधारमा नेकपा र प्रधानमन्त्री ओलीसँग छलफल गर्ने तयारी जसपा नेपालको रहेको छ ।

सम्भवतः आज काँग्रेस र जसपाबीच छलफल हुन्छ त्यसपछि नेकपा र प्रधानमन्त्री अ‍ोलीसँग छलफल हुने नेता यादवले रातोपाटीलाई बताए ।

संविधान जारी भएपछि मधेसवादी दलले त्यसलाई संशोधनको माग गर्दै पटक–पटक आन्दोलन गरेको थियो । त्यसैको नाममा नाकाबन्दी समेत भएको थियो । काँग्रेस र तत्कालिन माओवादी केन्द्रले मधेसवादी दलले उठाउँदै आएको माग अनुसार संविधान संशोधन गर्न पहल पनि गरेको थियो । त्यसका लागि संविधान संशोधनको विधेयक संसदमा दर्ता पनि भएको थियो । तर संसदमा बहुमत नपुगेको कारण त्यो विधेयक फिर्ता भएको थियो ।

त्यसपछि सबै दल चुनावमा व्यस्त भए । चुनाव सकिएपछि तत्कालिन एमाले र माओवादीबीच एकीकरण भयो । केपी शर्मा ओली प्रधानमन्त्री बने । उनले आफ्नो नेतृत्वको सरकारलाई दुई तिहाइको बनाउनका लागि मधेसवादी दलसँग संविधान संशोधन गर्ने भनेर सहमतिपत्रमा हस्ताक्षर पनि  गरे ।

तत्कालिन समाजवादी पार्टी दुई बुँदे सम्झौता गरी सरकारमै सहभागी भएको थियो भने तत्कालिन राजपा नेपालले बाहिरैबाट समर्थन गरेको थियो । त्यस बीचमा प्रधानमन्त्री ओलीले संविधान संशोधन हुने कुरामा पटक–पटक प्रतिबद्धता जनाएका थिए । प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जाँदा पनि उनले संविधान संशोधन हुने कुरामा प्रतिबद्धता दोहोर्याएका थिए ।

पटक–पटक संविधान संशोधनका लागि प्रतिवद्धता जनाए पनि प्रम ओलीले मधेसवादी दलसँग त्यस विषयमा कहिले छलफल गरेनन् । संविधान संशोधनका लागि कुनै तयारी नै गरेनन् । संविधान संशोधनमा ढिलासुस्ती गरेको देखेर राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जब सरकारमा रहेको तत्कालिन समाजवादी पार्टीसँग खटपट भयो, अनि संविधान संशोधनका सबै च्याप्टर क्लोज भयो ।

संविधान संशोधनका लागि छलफल गर्न विज्ञ समूह गठन गर्ने भनि तत्कालिन कानुन मन्त्रीको हैसियतमा उपेन्द्र यादवले मन्त्रीपरिषद्मा प्रस्ताव लग्दा प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकृत गर्दै नेता यादवलाई अपमान पूर्ण व्यवहार गरेका थिए । त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकार नै छाडेको थियो ।

त्यसपछि संविधान संशोधनको सम्भावना टाढिदै गयो । बरु तत्कालिन समाजवादी पार्टीका नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले मधेसवादी दल फुटाउन अध्यादेश नै ल्याए । समाजवादी पार्टी फुट्नै लाग्दा रातारात समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भयो र पार्टी टुक्रिनबाट जोगियो । यस घटनाले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग मधेसवादी दलको दुरी निकै बढेको थियो ।

अहिले आएर नेपालको नयाँ नक्सा ल्याइसकेपछि त्यसैका लागि संविधान संशोधन गर्न लागेका प्रधानमन्त्री ओलीको मन मधेसवादी दलले जित्न सक्लान् त ? यो प्रश्नको जवाफका लागि केही दिन पर्खनै पर्ने हुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation