कपिलवस्तुमा क्वारेन्टाइन भागे एकै पटक ४३ जना

तौलिहवा, जेठ १३
कपिलवस्तु जिल्लामा क्वारेन्टाईन बाट भाग्ने क्रम जारी छ । सोमबार राति जिल्लाको एउटा क्वारेन्टाईनबाट ४३ जना एकै पटक भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ को मालपारामा रहेको क्वारेन्टाईनबाट ४३ जना एकै पटक भागेको वडा अध्यक्ष रविन्द्र तिवारीले जानकारी दिनु भएको छ ।
क्वारेन्टाइन भित्रै मदिरा सेवन गरि दुई समुहबीच भनाभन भए पछी क्वारेन्टाईनबाट छाडेर भागेको बताइृएको छ। उनीहरु सुन्दर आधारभुत विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका थिए । क्वारेन्टाईनमा वसेको करीव १४ दिन पुगेको एक दुई दिनमा संक्रमण परिक्षण गरी बिदा गर्ने तयारी भईरहेको बेला उनीहरु भागेको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक कर्मचारीले बताए । कपिलवस्तुको क्वारेन्टाइनमा मदिरा कसरी पुग्यो भन्ने बिषयमा कसैले चासो देखाएको छैन ।
उनीहरु मध्ये धेरै भारतको मुम्वईबाट आएका थिए । कपिलवस्तुमा मुम्वईवाट आएका धेरैमा कोरोना संक्रमण समेत देखिएको छ । भारतीय सिमा नाघेर नेपाल भित्रिएका उक्त क्वारेन्टाईनमा कपिलवस्तुका ४ गाउका मानिसहरुलाई राखिएको छ । क्वारेन्टाइनमा मालपारा,गोपालपुर, विरपुर लगायतका गाउका स्थानीयलाई राखिएको छ । प्रशासनले सुरक्षा प्रदान नगरेको कारण क्वारेन्टाईनमा बसेकाहरु गांउँ जाने रक्सी खाने गरेको कपिलवस्तु नगरपालिका ४ का वार्ड अध्यक्ष रबिन्द्र तिवारीले बताउनुभयो । मालमाराका ३ जनाले मदिरा सेवन गरी हो हल्ला र झगडा गर्न खोजेपछि उनीहरु क्यारेन्टाईन छाडेर गएको तिवारीले बताउनुभयो ।
क्वारेन्टाईनमा वसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खानाको प्रबन्ध नगरेकाले आफ्नै घरवाट खाना लिएर परिवारले खुवाईरहेकाछन् । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ । क्वारेन्टाईन व्यवस्थीत नहुदा कपिलवस्तुका क्वारेन्टाईनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन ।
हाल सम्म धेरै क्वारेटाईनमा फिर्ता आईसकेको र ल्याउने क्रम जारी रहेको वडा अध्यक्ष तिवारीले जानकारी दिनु भया ।
यसै बिच कपिलवस्तु नगरपालिकाले वडाहरुलाई क्वारेटाईन संचालन गर्नका लागि आवश्यक सहयोग नगरेको वडा अध्यक्ष तिवारीको गुनासो छ । कपिलवस्तु नगरपालिकाले वडाहरुलाई क्वारेन्टाईन व्यवस्थापनको लागि ३० हजार रुपैया दिईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation