संघीय संसदको लोगोमा नेपालको अध्यावधिक नक्सा राखियो

काठमाडौँ — संघीय संसदको लोगो परिवर्तन गरिएको छ । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको हो । संसदको लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । 

संघीय संसदको नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका आइतबारका बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा राख्ने निर्णय गरेका थिए ।

भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसदले उक्त नक्सा संसदको प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नक्साअनुसार निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation