जातपात मिसिएर वियोगान्त बनेको प्रेमकथा, चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनामा सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभा संसदमा घटनाबारे जानकारी गराएका हुन्।

उनले उक्त छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको गृहमन्त्री थापाले बताए।

उनले बेपत्ता रहेका तीन जनाको खोजी गर्न गोताखोर पठाउने काम भइरहेको बताएका छन्। प्रेमिका भगाउन गएका नवराज विकसहित तीन जनाको शव फेला परिसकेको छ।

जातपात मिसिएर वियोगान्त बनेको प्रेमकथा

रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा शनिबार साँझ भएको एउटा घटनाको अहिले देशैभरि चर्चा छ।

मल्ल थरकी प्रेमिकालाई भगाउन आएका भेरी नगरपालिका-४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु भएपछि यो घटनासँग नेपाली समाजमा व्याप्त छुवाछुत र जातीय विभेद जोडिएको छ।

नवराज र १७ वर्षीया ती किशोरीको यो वियोगान्त प्रेम कहानीमा जातपातसँगै अरू कुरा पनि मिसिएका छन्।  

नवराज र किशोरी तीन वर्षदेखि प्रेममा थिए। यो कुरा उनीहरू दुबैको परिवारलाई थाहा थियो।

दुबै तर्फका परिवारले सम्बन्धलाई स्वीकार नगरेको नवराजका एकजना आफन्तले सेतोपाटीलाई बताए।

‘केटातर्फको परिवारलाई पनि पहिल्यै थाहा भइसकेको थियो, आमाले जात नमिल्ने भएकाले अगाडि नबढ्न छोरालाई भन्नुभएको रहेछ,’ उनले भने, ‘केटीतर्फकोले पनि सम्बन्धबारे थाहा पाएर अलग गराउने चेतावनी दिइरहेका थिए।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले उनीहरूको प्रेम सम्बन्धबारे पहिला पनि विवाद भएको बताए।  

‘लकडाउन सुरू हुनुभन्दा पहिला पनि बिक चौरजहारीस्थित केटीको घरमा पुगेका थिए।  छोरी भागेर जान थालेको थाहा पाएपछि उनका अभिभावकले प्रहरीलाई खबर गरेछन्,’ डिएसपी श्रेष्ठले भने।

प्रहरीले उनीहरू दुबै जनालाई चौकी ल्यायो।

केटीको उमेर नपुगेकाले पछि विवाह गर्नु भनेर सम्झाइबुझाइ गरेर पठाइदियो।

कानुनले तोकेको उमेर पो पुगेको थिएन, उनीहरूले मन भने विवाहका लागि आत्तिसकेको थियो। उनीहरूले फोनमै फेरि भाग्ने योजना बनाए। शनिबार नवराज आफ्ना १८ जना साथीलाई सँगै ल्याएर चौरजहारी आए।

उनको साथी आएकाहरू गैरदलित समुदायका पनि थिए। तीमध्ये एक गणेश बुढाको सोमबार साँझ भेरी नदीको किनारमा शव फेला परेको छ।  बुढा र नवराज छिमेकी थिए।

नवराज आफ्ना साथीसहित वडामा आएको चौरजहारी-८का  वडाध्यक्ष डम्मरबहादुर मल्ललाई कसैले खबर गरिदियो। त्यतिबेला उनी बाहिरबाट आएकालाई राख्न बनाइएको क्वारेन्टिनमा थिए। उनले साँझ पाँच बजेतिर आफूले यो खबर पाएको सेतोपाटीलाई बताए।

‘लकडाउन कार्यान्वयन गर्न हामीले एक वडाबाट अर्को वडामा जान बन्द गरेका बेला जाजरकोटबाट ठूलो समूहमा युवाहरू आएको सूचना मैले इलाका प्रहरी कार्यालयलाई दिएँ,’ वडाध्यक्ष मल्लले भने,‘तर प्रहरी समयमा आएन। गाउँमा पुगेर उनीहरूले केटीकी आमासँग भनाभन गरेछन्।’

त्यसपछि क्वारेन्टिनबाट आफू गाउँ गएको उनले बताए।

‘औल भन्ने ठाउँमा पुग्दा गाउँलेहरूले युवाहरूलाई लखट्दै आएको भेट्टाएँ। त्यतिबेला झन्डै साढे पाँच बजेको थियो। ५ मिनेटपछि प्रहरी पनि सोही ठाउँमा पुग्यो,’ उनले भने।  

गाउँलेहरूले १२ जना युवालाई नियन्त्रण लिएर राखेका थिए। ती सबैलाई प्रहरीको जिम्मा लगाए।

पहिला पनि आएका नवराज फेरि दलबलसहित आएको देखेपछि केटीकी आमा ‘दलितको छोराले हाम्री छोरी भगाउन लाग्यो’  भन्दै कराइछन्।

‘युवाहरूले उनको कुरा सुनेको नसुन्यै गरेछन्। विनोद मल्लको घर कहाँ छ भन्दै हिँडेछन्,’ वडाध्यक्ष मल्लले भने,‘पहिलो पटक केटी भगाउन आएको बेला प्रहरी चौकी पुर्‍याएको भन्दै विनोदसँग नवराज रिसाएका थिए।’

त्यसपछि गाउँलेहरूले ती युवाहरू झगडा गर्न आएको ठानेर लखेटेको वडाध्यक्ष मल्लले बताए।

‘उनीहरू १९ जनामात्रै तर गाउँका १०० जना जति पुगेपछि उनीहरूको जोर चलेन अनि ज्यान जोगाउन भागेछन्,’ मल्लले भने।  

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जाजरकोटका युवालाई सोती गाउँका मानिसले कुटपिट गर्दै लखेटेपछि ज्यान जोगाउन भाग्दाभाग्दै नदीमा हाम फालेको बताए।

‘गाउँले कुटपिट गर्न थालेपछि सबै भागाभाग गरे, सबै ज्यान जोगाउन लागे,’ डिएसपी केसीले भने ‘नदीमा हाम फालेकाहरूलाई समेत माथिबाट ढुंगामुढा भयो भन्ने बयान घाइतेहरूले दिएका छन्।’

गाउँलेहरूले लखेट्दै  उनीहरूलाई नदी किनारसम्म पुर्‍याए।

पौडेर नदी पार गर्छु भन्नेहरूले भेरीमा हाम फाले। नसक्नेले आत्मसमर्पण गरेको डिएसपी केसीले बताए।  

‘नदीमा हाम फालेकाहरूमाथि पनि गाउँलेहरूले ढुंगाले हाने, पहिला नै घाइते भएका उनीहरू पौडिन सकेनन् होला,’ डिएसपी केसीले भने।

प्रहरीले गाउँलेले बुझाएका १२ जनालाई जिल्ला अस्पताल ल्यायो। नदीमा हाम फालेका ७ जनाको खोजी सुरू गर्‍यो।  राति १० बजेतिर भेरी किनारमा नवराजको शव फेला पर्‍यो।

उनको शव भेटिएको केही तल आइतबार बिहान टीकाराम सुनारको शव भेटियो।  टीकारामको शव भेटिएको ठाउँबाट तीन/चार किलोमिटर तल सोमबार साँझ गणेश बुढा मगरको शव फेला परेको छ।

१८ वर्षका लोकेन्द्र सुनार र सञ्जु बिक र १७ वर्षीय गोविन्द शाही अझै बेपत्ता छन्।  

नदीमा हाम फालेका एक जना भने पछि प्रहरीको सम्पर्कमा आएको डिएसपी केसीले जानकारी दिए।  

प्रहरीले नियन्त्रणमा लिएका १२ मध्ये १० जनाको अवस्था सामान्य छ। २ जना पनि जिल्ला अस्पताल चौरजहारीको उपचारपछि सोमबार डिस्चार्ड भइसकेको डिएसपी केसीले जानकारी दिए।

घाइते युवाले आफू केटी लिन भनी रूकुम आएको भए पनि यस्तो होला भन्ने थाहा नभएको प्रहरीलाई बताएका छन्।

‘हामी केटीको घर पुग्दा गाली गर्न थाले अनि गाउँले पनि आए त्यसपछि लखेटे अनि ज्यान जोगाउन भाग्ने काम भयो र त्यही क्रममा घेराबन्दी गरेर कुट्ने काम गरे,’ डिएसपी केसीले  घाइते युवाको भनाइ उद्धृत गर्दै भने ‘लखेट्दै भेरीसम्म पुर्‍याए अनि ज्यान जोगाउन कतिपय साथीले नदीमा हाम फाले।’

घटना छानबिन गर्न नेकपाले बनायो समिति

घटनाको निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूकुम पश्चिमले समिति बनाएको छ।

जिल्ला अध्यक्ष गोपाल शर्माले विज्ञप्ति जारी पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा पुष्पा वादी र भीमा थापा सदस्य रहेको समिति बनाएको जानकारी दिएका छन्।  

त्यस्तै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रूकुम पश्चिमले घटनाको निन्दा गरेको छ। संघले केटीले बोलाएपछि लिन गएका युवाहरूलाई केटी पक्षले दलित भएकै कारण षडयन्त्रपूर्वक ढंगले बीच बाटोमै सांघातिक आक्रमण गरेर हत्या गरेको आरोप लगाएको छ।

‘२१ औं शताब्दिको मानव सभ्यतालाई नै उपहास गर्ने, राज्यको कानुनलाई ठाडै चुनौती दिने, दलित समुदायलाई उत्तेजित बनाइ साम्प्रदायिक हिंसा भड्काउने यस्ता गतिविधि स्वीकार्य हुँदैन,’संघले भनेको छ।

घटनापछि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवाआमासहित  पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेताेपाटी बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation