कपिलवस्तुमा अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिमै कोरोना, गाँउमा त्रासै त्रास

पिलवस्तु अस्पतालमा उपचाररत क्वारेन्टाईनका एक व्यक्तिलाई अस्पतालले स्वाब संकलन गरि प्रतिवेदन नआउदै डिस्चार्ज गरिदा गाउँभरी त्रास बढेको छ । 

अस्पतालले स्वाब संकलन गरि डिस्जार्च गरेका व्यक्ति गाँउमा पुगेको दुई दिन पछि कोरोना संक्रमण पुष्टी भएपछि अहिले गाँउ नै त्रसित बनेको हो ।

कपिलवस्तु नगरपालिका १२ बिठुवाका एक युवालाई अस्पतालले तिन दिन उपचार गरि डिस्चार्ज गरेको थियो । गत जेठ ७ गते कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बिठुवा गाँउको रामदेव प्राबि मा रहेको क्वारेन्टाईनका २२ बर्षका युवा अचानक बेहोस भए ।

उनि मधुमेहका बिरामी समेत रहेका थिए । उनी भारतको मुम्बईबाट घर फर्किएर गाँउकै बिद्यालयको क्वारेन्टाईनमा राखिएका थिए । बिरामी परेका उनलाई उपचारका लागी कपिलवस्तु अस्पताल तौलिहवा लगी जेठ ७ गते भर्ना गरिएकोमो अवस्थामा सुधार आएको भन्दै अस्पतालले जेठ १० गते डिस्चार्ज गरेको थियो । क्वारेन्टिनका व्यक्ति भए पनि उनलाई डिस्चार्ज गर्दा स्थानिय तहका जनप्रतिनिधी र नगर स्वास्थ्य शाखा सँग अस्पतालले कुनै समन्वय गरेन । डिस्चार्ज भएका उनलाई परिवारले घर पठाइयो ।

घर पुगेको दुई दिन पछि जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टी भएको छ ।

उपचार कहाँ गर्ने टुङ्गो छैन्
कोरोना संक्रमित पुष्टी भएका उनलाई अहिले पुनः वडा नम्बर १२ बिठुवा गाँउको रामदेव प्रा.बि मा रहेको क्वारेन्टाईनमा राखिएको छ । प्रादेशिक प्रयोगशालाले संक्रमण पुष्टी गरि सुचना प्रवाह गरे पनि हालसम्म उनलाई आईशोलेसनका लागि कहाँ लैजाले भन्ने बिषयमा कुनै पनि तहमा छलफल नै चल्न सकेको छैन ।
क्वारेन्टाईनमा रहेका संक्रमितले आफुलाई कपिलवस्तु अस्पतालले तिन दिन उपचार गरि निको भयो भन्दै डिस्चार्ज गरि फर्काएको बताए । “अस्पतालले डिस्चार्ज गरे पछि सोझै सोझ घर आएर बसे । हिजो मात्रै परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएको थाहा पाए ।” उनले भने । अस्पतालबाट डिस्चार्ज गर्दा क्वारेन्टाईन जान नभनिएकाले आफु निको भएको भनि घर फर्किएको उनले बुटवल टुडेकर्मीलाई बताए । स्वाब परिक्षणका लागी पठाईएका व्यक्तिलाई स्थानिय तह सँग समन्वय गरेर पुनः क्वारेन्टाईन पठाउनु पर्नेमा डिस्चार्ज गरि छोडेर कपिलवस्तु अस्पतालले लापरवाही गरेको वडा नम्बर १२ का वडा सदस्य जयजय राम यादवले आरोप लगाए ।

क्वारेन्टिनबाट उपचारका लागी लगिएका व्यक्तिलाई अस्पतालले बिना समन्वय स्वाब परिक्षणको प्रतिबेदन नआउदै डिस्चार्ज गर्नु लापरवाही हुनुका साथै स्थानियलाई जोखिममा पार्ने कार्य भएको सौरहाका स्थानिय सुधाकान्त उपाध्यायले बताए । “अस्पतालले छोडे पछि दुई दिन घरमै बसेका युवाबाट अहिले बिठुवा र साबिकको सौरहा गाबिस नै त्रसित छ । नागरिकलाई जोखिममा पार्ने गरि लापरवाही गर्नेलाई कारवाही हुन आवश्यक छ ।” उपाध्यायले भने ।

ट्याक्टरमा पुर्याइएका थियो अस्पताल
अहिले संक्रमण पुष्टि भएका युवालाई एम्बुलेन्सहरु नभेटिए पछि जेठ ७ गते नगरपालिकाको ट्याक्टरले अस्पताल पुर्याएको कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ओम प्रकाश पाण्डेयले बताए । “बिरामी भए पछि क्वारेन्टिनबाट जेठ ७ गते अस्पताल लगेर भर्ना गरिएका उनलाई अस्पतालले १० गते डिस्चार्ज गरेछ ।

अस्पतालले पठाए पछि चेकजाँच गरेर निको भएरै होला भन्ने छिमेकीले बुझेछन । हिजो कोरोना देखियो भन्ने जानकारी पाएका सबै छिमेकी र परिवार अहिले त्रसित छन । ” वडा अध्यक्ष पाण्डेयले भने । बिरामीको अवस्था बारे चिकित्सकलाई नै फोन गरि आफुले पटक पटक जानकारी लिएको उनले बताए । बिरामी परेका युवालाई अस्पतालमा उपचार गराउनका लागी कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ताले समन्वय गरेका थिए । “ति युवा अस्पतालबाट डिस्चार्ज गरिएको बिषयमा कुनै सुचना र जानकारी दिईएन । हिजो संक्रमण फेला परे पछि मात्रै ति युवालाई अस्पतालले डिस्चार्ज गरेको थाहा पाए ।” स्वास्थ्य संयोजक गुप्ताले भने ।


हाम्रो लापरवाही होइनः अस्पताल
यता कपिलवस्तु अस्पतालले भने संक्रमण फेला परेका व्यक्तिलाई क्वारेन्टिन जाने गरि अस्पतालबाट डिस्चार्ज गरिएको प्रष्टिकरण दिदै अस्पतालबाट कुनै लापरवाही नभएको दाबी गरेको छ ।
कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले पहिलो दिन युवालाई उपचारका लागी कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा ल्याईएकोमा प्राथमिक उपचारका क्रममा आरडिटी चेक गर्दा रिजल्ट नेगेटिभ आएको जनाए । “सुगरको बिरामी भएर डाईबेटिक यशुजोशिसमा गएको रहेछ, जसको उपचार गरि बिरामी स्टेबल भए पछि बिरामीलाई वार्डमा राखेर ईन्सिुलिन मिलाईएको थियो ।” उनले भने । आरडिटी रिपोर्ट नेगेटिभ भए पनि अस्पतालमा पुराना संक्रमित भएकाले कन्ट्रयाक्ट ट्रेसिगंमा निज पनि मौजुद रहेकाले उनको पनि स्वाब लिई पिसिआर परिक्षणका लागी पठाईएको बन्जाडेले जनाए । बिरामी स्टेबल भई सके पछि सम्बन्धित क्वारेन्टाईनमा जाने गरि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको उनको स्पष्टोक्ति थियो ।

डिस्चार्ज गर्दा अस्पतालले जनप्रतिनिधीसँग समन्वय ग¥यो कि गरेन भन्ने जिज्ञासा बारे प्रतिक्रिया दिदै डाक्टर बन्जाडेले छोड्न आएका व्यक्ति दुई तिन दिन देखि बुझ्न नआएको र बिरामीसँग बाबु आमा बाहेक कोही नदेखिएको बताए । “उनलाई राम्रो निर्देशन गरेर बाबु आमा सँगै राखेर क्वारेन्टाईन जानु पर्छ भनि डिस्चार्ज गरियो । डिस्चार्ज गरेका उनीहरु जनप्रतिनिधीलाई समन्वय गर्न अघि आफनो कागजात लिएर हिडी सकेका थिए । अनि हामीलाई क्वारेन्टाईन गए होलान नै भन्ने लाग्यो ।” मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बन्जाडेले थपे ।

हामी निरन्तर सम्पर्कमा थियौंः वडाअध्यक्ष
उता वडा अध्यक्ष पाण्डेयले भने आफु युवाको उपचार गर्ने क्रममा अस्पतालका डाक्टरसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन । क्वारेन्टाईन सञ्चालन गरेको वडा र समन्वय गरेको नगरपालिकाका प्रतिनिधीले उपचारका लागी अस्पताल पुर्याएका युवालाई बिना सुचना र समन्वय अस्पतालबाट डिस्चार्ज गरिएको बिषयमा कपिलवस्तु अस्पताल चुकेको देखिन्छ ।

संक्रमण देखिएका युवा घरमै पुग्दा उनले अन्यमा समेत संक्रमणको जोखिम फैलाउने सम्भावना रहेकाले सो बिषयमा कस्को लापरवाही हो ? प्रष्टिन आवश्यक छ ।

बुटवल टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation