हप्ता दिनमै कोरोना संक्रमित झण्डै दोब्बर, मंगलबार अहिले सम्मकै धेरै १०१ जनामा देखियो कोरोना

एक हप्तामै कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो संख्या ७ सय ७२ पुगेको छ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो। चीनबाट आएका ती युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो।

त्यसपछि गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण देखियो। यो नेपालमा दुई महिनापछि देखिएको दोस्रो केस हो। त्यसपछि खाडी मुलुक र युवतीसँगै जहाजमा आएका केहीलाई संक्रमण देखियो।पछिल्लो समय भने भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएको छ। अहिले पनि अधिकांश संक्रमितहरू भारतबाट आएको पाइएको छ।
भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमित संख्या बढी छ। बाँकेको नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जनामा संक्रमण देखिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो।नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। जसमा सिन्धुपाल्चोक, बारा, गुल्मी र बाँकेका एक– एक जना छन्। संक्रमणबाट निको हुनेको संख्या १ सय ५५ छ।

मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।

यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। मंगलबार १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ। एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ। गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो। थपिएका १०१ संक्रमितमध्ये सात जना सोमबार साँझ थपिएका संक्रमित हुन्। त्यसको औपचारिक जानकारी मन्त्रालयले मंगलबार गराएको हो।

थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई-दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक-एक जना छन्।  

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १५५ जना निको भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation