आँपको रुखमुनि क्वारेन्टाइन बनाएर बसेकाहरू भन्छन्, ‘कोरोनाले भन्दा सर्पको टोकाइबाट मरिन्छ कि जस्तो लाग्छ’

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ८ स्थित मधुनगरमा २३ जनाको समूह क्वारेन्टाइनमा बसेका छन् । १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारको नियम अनुसार स्थानीय विद्यालय खाली नभएपछि मधुनगरमा आँपको रुखमुनि अस्थायी क्वारेन्टिनमा बस्नु परेको उनीहरूले दुखेसो पोखे ।

त्यस्तै यशोधरा गाउँपालिका वडा नं. ८ का विक्रम पासी महामारीको पीडामा जनता छट्पटाइरहेका बेला निर्वाचित प्रदेश र संघीय जनप्रतिनिधि कता हराए भन्दै प्रश्न गरेका छन् । चुनावका बेला ठुला ठुला गफ गर्ने नेताहरू अहिले मुख देखाउनै छाडिसकेको उनले बताए । गर्मीको समयमा खुला आकाश मुनि बसेकाहरूलाई हावा हुरीका साथै कोरोनाको भन्दा सर्पको टोकाइको चिन्ता रहेको क्वारेन्टिनमा रहेका विक्रम पासीले बताए । राती ठुलो हावा हुरीमा खाट मुनि धुलोमा लुकेर बस्नु परेको पिडा पासीले पोखे ।

यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले गाउँपालिकाको वडा नं। ८ मा बाँसखोर, खोरिया र सिहोखोर स्थित विद्यालयमा भारतका विभिन्न शहरबाट आएका व्यक्तिले विद्यालयका क्वारेन्टिन भरिभारउ रहेकोले रुख मुनि अस्थायी क्वारेन्टिनमा राख्न आफूहरू बाध्य भएको बताए । अध्यक्ष पाण्डेले त्यहाँ राखिएकाहरूलाई खानाको व्यवस्थापन गरिरहेको जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा राखिएकाहरूको पीसीआर परीक्षणका लागि सोमबार काठमाडौँ पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट नआएको बताए ।

यो महामारीको बेला सङ्घ तथा प्रदेश दुवैका प्रतिनिधिले जनताको समस्या बुझ्न नआएको अध्यक्ष पाण्डेले बताए । नेपाल रेडक्रस सोसाइटीमा पालको लागि पहल गरे पनि उपलब्ध नभएको उनको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाको १० वटै स्थानीय तहले निर्माण गरेको २ सय क्वारेन्टिनमा १ हजार १९० बेड रहेका छन् । कपिलवस्तुमा कोरोना संक्रमितको सङ्ख्या १ सय ३६ पुगेको छ जसमा १५ जना कोरोना जितेर घर फर्किसकेका छन् । 


 टिभीअन्नपुर्णबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation