सीमामै जन्मिएकाे बच्चाकाे नाम ‘बर्डर’

राधेश्याम विश्वकर्मा
भैरहवा १८ जेठ, लकडाउनको अवधिमा नेपाल र भारतमा काम गर्ने मजदुरहरु सबैभन्दा धेरै प्रभावित रहे । भारतमा काम गर्ने नेपालीहरु मात्र हैन नेपालमा काम गर्ने भारतीय मजदुरहरुले पनि उत्तिकै दुःख सहनु परेको छ । भारतले पनि आफ्नो नागरिकलाई आफ्नै देशमा प्रवेश नदिंदा हजारौं भारतीयहरु अहिले सीमामा अलपत्र परेका छन् । नेपाल–भारतको सीमा दशगजामै अहिले नेपालीहरु दुःख नपाए पनि भारतीयहरुको लागि भने यसबेलाको अवस्था कष्टकर नै छ । यहि कष्टकर अवस्थाको बीच एक भारतीय महिलाले दशगजामै शिशु जन्माएकी छिन् ।

दशगजामै प्रसव पीडा भएपछि भारत बहराईच जिल्लाकी जामताराले अन्य भारतीय महिलाहरुको सहयोगमा शिशुलाई जन्म दिइन । सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारको उक्त बालकको नाम नै “बर्डर” राखिदिए । भारतको बहराईच जिल्लामा बस्ने लालाराम आफ्नो श्रीमती सहित नवलपरासीको जगत ईट्टा उद्योगमा काम गर्दथे । भारतको प्रवेश अनुमतिको आशमा दशगजामा पालो कुरेर बसी रहेको उनको श्रीमतीलाई एक्कासी प्रसव पीडा भएको थियो । प्रसव पिडाले छटपटिएकी जामतारालाई पालो कुरि रहेका अन्य भारतीय महिलाहरुको सहयोगमा प्रसुति गराइएको थियो ।

शिशुसहित अहिले प्रसुति भएकी महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । भने शिशु तथा आमाको नौतनवामा रहेको स्वास्थ्य चौकीमा उपचार भै रहेको भारतीय स्वास्थ्यकर्मीले जनाएका छन् । जामताराको अहिले जन्मिएको बच्चाको अतिरिक्त दुई छोरी र एक छोरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation