गुल्मीमा क्वारेन्टाइनबाट भागेर आत्महत्या

१८ जेठ, काठमाडौं । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी शनिबार मात्रै भारतको नयाँदिल्लीबाट आएका थिए । उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । घाँटीमा उनको आफ्नै गलबन्दीको पासो थियो ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चन्द्रबहादुरले दिल्लीमै पनि आत्महत्याको प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष पन्तले भने, ‘परिवारका सदस्यहरुले भनेअनुसार उनले एक–डेढ महिना अगाडि दिल्लीमा पनि आत्महत्याको प्रयास गरेका रहेछन् । अप्रिय घटना होला भनेर दिल्लीमा रहेका उनका आफन्तले नेपाल पठाइदिएका रहेछन् ।’

चन्द्रबहादुरसहितका व्यक्तिहरुलाई छत्रकोट गाउँपालिकाले गाडीको व्यवस्था गरी सुनौली नाकाबाट शनिबार उद्धार गरेर ल्याएको थियो । चन्द्रबहादुर गाउँमा आउनासाथ परिवारका सदस्यहरुले क्वारेन्टाइनमा बस्दा आवश्यक पर्ने सामान के–के ल्याइदिनुपर्छ भनेर सोधेका थिए । तर, चन्द्रबहादुरले केही पनि सामान चाहिँदैन भनेको गाउँपालिका अध्यक्ष पन्त बताउँछन् ।

चन्द्रबहादुरसहित आदर्श माविको क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले घटनाबारे दिएको जानकारी यस्तो छ–

शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका थिए । हामी व्यस्त थियौं । शनिबार साँझ करिब साढे ६ बजेतिर शौचालय जान्छु भनेर कोठाबाट निस्किनु भएछ ।

स्वास्थ्य जाँच्दै जाने क्रममा एक जना मान्छे खै ? शौचालय गएको चन्द्रबहादुर खै ? भनेर खोजी सुरु भयो । क्वारेन्टाइनमा नभेटिएपछि भागेको थाहा भयो । वरपर खोज्दै जाँदा स्कुलभन्दा करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटियो । करिब एक घण्टाको बीचमा हामीले शव फेला पार्यौं ।

आत्महत्या गर्नुको कारण थाहा छैन । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation