राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता, सेना परिचालन घोषणा हुन सक्ने

काठमान्डाै- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बिहान १० बजेतिर शितलनिवास पुगेका थिए।

‘उहाँहरूबीच झन्डै एक घन्टाजति कुराकानी भएको थियो,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘एक्लाएक्लै भेट भएकाले के विषयमा कुराकानी भयो भन्ने हामीले थाहा पाएनौं।’ स्रोतका अनुसार प्रधानमन्त्री ओली कोरोना महामारीमा नेपाली सेना परिचालन गर्नेबारे छलफल गर्न शितल निवास गएका हुन्।

संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने र  सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन हुनुपर्ने उल्लेख छ। यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टिन र विदेशबाट आउने नेपालीको व्यवस्थापन गर्न सेना परिचालन गर्ने निर्णय गरेको थियो।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आजै सेना परिचालन घोषणा गर्ने सम्भावना छ। 

सेताेपाटी बाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation