कोरोना रोकथाम तथा उपचारमा अहिलेसम्म १० अर्ब खर्च

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ। विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन्।कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए। अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएकाले यो बढ्न सक्ने उनको भनाइ छ।बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो। समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको छ। तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation