५ घण्टा लामो छलफल : लकडाउन खुकुलो पार्न सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले रातोपाटीलाई जानकारी दिए । झन्डै ५ घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए । त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे आवश्यक निर्णय लिने बताएका छन् । प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका झन्डै ३० जना विषयविज्ञहरूले आफ्नो सुझाव पेस गरेका थिए । प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? पार्ने हो भने कसरी पार्न सकिन्छ भनेर सुझाव लिएका थिए । यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा रहेका अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । यो पनि…छलफलमा विज्ञहरुले सुरक्षा विधि अपनाउँदै अत्यावश्यक सेवाका साथै अन्य खुद्रा पसल, निजी सवारी सधान सञ्चालन गर्न पनि सुझाव दिएका छन् । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले क्वारेन्टाइनको अवस्था सुधार गर्न, निजी अस्पतालमा पनि कोरोना परिक्षणको अनुमति दिन सुझाव दिएको डा. दीक्षितले जानकारी दिए ।उनले भने,‘राज्यले पनि पर्याप्त परीक्षण नगर्ने, निजीलाई पनि नदिने हो भने समस्या जटिल भएर जान्छ । क्वारेन्टाइनहरुको अवस्था सुधार गरेर जानुपर्छ भनेर सुझाव दिएँ ।’छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणका विच कसरी अर्थतन्त्रलाई चलायमान बनाएर जान सकिन्छ भनेर सुझाव दिएका थिए । प्रधानमन्त्रीले आफूले धेरै सुझाव पाएको भन्दै सुझावको फिल्टर गरेर आवश्यक छलफलपछि निर्णय गर्ने जानकारी गराएका छन् । अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जनाले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । पछिल्लो समय लकडाउनको विकल्प खोजिनु पर्ने भन्दै सरकारमाथि चौतर्फी दवाव बढ्दै आएको छ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation