नेपाल–भारत औपचारिक वार्ता अनिश्चित, अनौपचारिक छलफल जारी

काठमान्डाै – भारतले नेपालको लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेसँगै नेपालले त्यसको विरोध र परराष्ट्रसचिवस्तरीय वार्ताको आग्रहसहित पत्र पठाएको थियो । तर, भारतले औपचारिक रूपमा जवाफ दिएको छैन । प्रधानमन्त्री केपी ओली आफैँ तथा नेकपा नेताहरू विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र नेपाली सेनाका उच्च अधिकारीको तहबाट पनि भारतसँग अनौपचारिक संवाद भइरहेको छ । भारतमा भाजपा नेताहरू विजय चौथाइवाले, राम माधव, विजय जोलीलगायतका नेताहरू प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूसँग सम्पर्कमा छन् । सूत्रहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि प्रधानमन्त्री ओली निकटका नेताहरू सम्पर्कमा छन् । ‘सबै तहमा संवाद भइरहेको छ, यद्यपि भारतको विदेश मन्त्रालयबाट सकारात्मक जवाफ नआएको हुनाले वार्ता कहिले हुन्छ भन्न सकिने अवस्था छैन,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो । अनौपचारिक छलफलमा संलग्न स्रोतहरूका अनुसार भारतले संविधान संशोधन रोकेर वार्ताको परिस्थिति बनाउन नेपाललाई प्रस्ताव गरेको छ । तर, नेपालले भारतबाट स्पष्ट मिति तोकिएको वार्ता प्रस्ताव पठाउनुपर्ने सन्देश पठाएको छ । नेपालले संविधान संशोधन प्रक्रिया रोक्न सकिने नसकिने केही स्पष्ट सन्देश पठाएको छैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation