रुपन्देही २३ जेठ । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुका लागि कोरोना बिमा गरेको छ । युनियनले कोरोना ( कोभिड– १९ ) को बढ्दो जोखीमका बाबजुद फिल्डमा खटिनु पर्ने पत्रकारहरुका लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना बिमा गराएको हो ।नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँणको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ६८ जना पत्रकारहरुको कारोना बिमा गरीएको प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले बताउनु भयो । काँग्रेस नेता खाँणले महामारीको समयमा जोखीम बहन गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सबै गम्भिर हुनु पर्ने बताउनु भयो ।काँग्रेस संसदिय दलका प्रमुख सचेतक खाँणको सहयोग र नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको समन्वयमा पहिलो चरणमा बिभिन्न संचार माध्यमहरुमा नियमित काम गर्ने ६८ जनाको कोरोना बिमा गरीएको हो । युनियनले आफना सदस्यहरुका लागि आगामी दिनमा पनि चरणबद्ध रुपमा बिमा कार्यक्रमलाई जारी राखीने जनाएको छ ।महामारीको समयमा नागरिकलाई सुचना प्रवाह गर्ने काममा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको बिषयमा नेपाली काँग्रेस रुपन्देही गम्भिर रहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो । युनियनले सिद्धार्थ इन्स्योरेन्स मार्फत सदस्यहरुको कोरोना बिमा गरेको हो । प्रेस युनियन रुपन्देहीले यसअघि पनि आफना सदस्यहरुलाई चरणबद्ध रुपमा न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री पनि प्रदान गर्दै आएको छ । कोभिड– १९ को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाएर पेशागत भुमिका निर्वाह गर्न युनियनले सम्पुर्ण पत्रकार तथा संचारकर्मीहरुलाई आग्रह पनि गरेको छ ।