अन्त्येष्टीपछि कोराेना पुष्टि, मृतकको टोलमा त्रास

काठमाडौँ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलाको अन्त्येष्टीपछि कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका-४ की महिलाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको डायलासिस वार्डमै मृत्यु भएको थियो ।  

ती महिलाको मृत्युपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । तर, आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै अस्पतालले मृतकको शव परिवारका सदस्यलाई बुझाएको थियो ।  डायलिससको क्रममा मृत्यु भएको र आरडिटी रिपोर्ट नेगेटिभ आएको भन्दै ती महिलाको शव आज बिहान मोहना घाटमा अन्त्येष्टी गरिएको बताइएको छ । अन्त्येष्टीपछि मात्रै ती महिलामा कोरोना पुष्टि भएको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए ।

‘अन्त्येष्टि गरेको एक घण्टापछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो,’ वडाअध्यक्ष थापाले भने, ‘परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको छ ।’कोरोना संक्रमित महिलाको अन्त्येष्टिमा २० जनाभन्दा बढी मलामी गएका थिए । मलामी जानेहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । केही प्रहरीको सम्पर्कमा आइसकेका छन् । अहिले मृतक महिलाको टोलमा त्रास फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation