सांसदकाे छ अर्ब ६० करोडबाट कीट किनेर जनताकाे जीवन बचाऔँः कांग्रेस सांसद मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सिंहदरबारमा बसेका सिंहहरूका कारण स्थानीय तहले जनताको काम गर्न नसकेको बताएका छन् ।संसदको आइतबार बसेको बैठकमा बोल्दै सांसद मुसलमानले सिंहदरबारमा बसेकाहरूले संघीयतालाई असफल बनाउन लागेको आरोप लगाए । उनले सांसदहरूलाई दिइएको चार करोड रुपियाँ बजेट खारेज गरेर कोरोना भाइरसको संक्रमण रोकथाममा लगाउन कम्युनिस्ट सरकारलाई सुझाव दिए ।‘संघीयतामा जानु भनेको विकास निर्माणको सबै कार्यहरू स्थानीयस्तरबाट प्रत्यके जनताले आफ्नो घरदैलोमा अधिकारहरू प्राप्त गरेर अगाडि बढ्नेछ भन्ने हो’, उनले भने, ‘अहिलेको परिस्थितिमा हेर्ने हो भने सिंहदरबारबाट आज्ञा हुने सिंहहरू नै गएर प्रत्येक स्थानीय तहमा आफ्नो शासन चलाइरहेका छन् ।‘अधिकारको कटौती गर्दै जाने हो भने हामीले संघीयता ल्याएको केका लागि हो ?’, कांग्रेस सांसद मुसलमानले भने, ‘हामीले संघीयता ल्याउँदा जनताले आफ्ना घरमा आधारभूत सेवाहरू प्राप्त गर्नेछन् र जननिर्वाचित प्रतिनिधिहरूमार्फत ती आकांक्षाहरू पूर्ति हुनेछ भन्ने कुरा गरेका थियौँ ।‘अहिले जिल्लामा प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मीदेखि विभिन्न प्रशासनिक कार्यालयमा पठाउने अधिकारीहरू मातहत ती जनप्रतिनिधिहरूको मानमर्दन गर्ने कार्य भइरहेको छ’, उनले भने ।‘कोरोनाले अहिले देश भयाबहस्थितिमा अवस्थामा पुगिसकेको छ’, उनले भने, ‘यो परिस्थितिमा पुग्दापनि हामीले चिन्दै नचिनेको उच्चस्तरीय संयन्त्र बनेको छ । उसले भाषण गर्छ । उसले आफ्नो बजेट विनियोजनका खर्चहरू देखाउँछ ।‘दश अर्बभन्दा धेरै खर्च भइसक्यो, स्थानीय तहलाई कसैलाई थाहा छैन, कति पैसा खर्च भएको छ’, सांसद मुसलमानले भने, ‘सदनलाई पनि थाहा छैन कति पैसा खर्च भयो भनेर । कसैलाई पनि थाहा छैन यो पैसाहरू कुन निकायमा कहाँ खर्च भयो ?‘जब कि जनता आरडीडी टेस्टका भरमा गाउँमा फर्किएका छन्’, उनले भने, ‘मृत्यु भएपछि पीसीआर टेष्ट गर्दा पोजेटिभ पाइएको छ । गाउँमा तहल्का मच्चिएको छ ।‘यो परिस्थितिमा ६ अर्ब ६० करोड रुपियाँ लिएर सांसदहरूले वडाध्यक्ष र सदस्यहरूको काम गर्नको लागि दवाव दिनु हुन्छ’, उनले भने, ‘यो सरकारको अर्थमन्त्री र संघीय मामिला मन्त्रालयले त्यो बजेट स्वीकार गर्छ ।‘हिजोको परिस्थिति अर्कै थियो । स्थानीय जनप्रतिनिधिहरू थिएनन्’, उनले भने, ‘त्यस बेला सबै जनप्रतिनिधि भएका नाताले सदनबाट केही कामहरू सुरुवात गरियो ।‘हामीले विकास निर्माणको काम स्थानीय तहलाई दिइसकेका छौँ’, उनले भने, ‘सदनमा सबैले समान हैसियत राख्ने सांसदहरू हुन् । समानुपातिकका नाममा कसैले राष्ट्रिय सभाको नाममा विभेद गरिन्छ । निर्वाचित सांसदहरूले विकास निर्माणको काम गर्नुपर्छ त्यस कारण उहाँहरूलाई त्यो काम दिनुपर्छ भन्ने कुरा राखेका छन्’, उनले भने, ‘निर्वाचित सांसदहरू विधि विधान र कानून बनाउने होइन भने उनीहरूले चार करोड लिएर गएर विकासको काम गर्नुपर्‍यो ।‘समानुपातिक र राष्ट्रिय सभाका सांसदहरूले यहाँ बसेर नीति नियम बनाउनेछन्’, उनले भने, ‘निर्वाचित सांसदहरूले वडाध्यक्ष र वडा सदस्यको हैसियतले काम गरे अझै प्रभावकारी र अझै राम्रो हुनेछ । यही बजेट छ अरब ६० करोड पीसीआर कीट खरिद गरेको भए आज जनतामा यो अवस्था आउने थिएन’, कांग्रेस सांसद मुसलमानले भने, ‘जनताले कोरोनाको सेवा घरदैलोमा प्राप्त गर्ने थिए । क्वारिन्टिन अहिले भैँसीगोठमा छ । आइसोलेशनको अवस्था खराब भएको छ । जनस्तरबाट विरोध भइसकेको र तिरस्कृत भएको कार्यक्रमको लागि यत्रो बजेट छुट्याइएको छ । कर्मचारी समायोजनको कुरा अत्यन्त महत्वका साथ उठाएका थियौँ । त्यस बेला प्रशासनिक निकायका व्यक्तिहरूलाई मात्रै अगाडि बढाइयो’, उनले भने, ‘प्राविधिकहरूलाई हेला गरियो । कोरोनाको अवस्थामा आज ती प्राविधिक साथ नदिने हो भने ती प्रशासनिक व्यक्तिहरूले मात्रै कोरोना नियन्त्रण गर्न सक्दैनन् ।’‘स्वास्थ्यका कर्मचारीलाई भत्ता दिएर अगाडि बढाएका छौँ । हिजो हामीले पद नि सकेनौँ । पैसा दिएर मात्रै सबै कुरा हुँदैन’, उनले भने, ‘हिजोका दिनमा प्राविधिक कर्मचारीहरूलाई पनि महत्व दिएको भए आज यो रोगबाट लडिरहेका व्यक्तिहरूको आत्मसम्मान बढ्ने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation