तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी दर्ता गराउन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए। पार्टी दर्ताका लागि निवेदन दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ता गर्नुपर्ने बाध्यता थियो। जनता समाजवादी पार्टीका नेता शिवजी यादवले दुई अध्यक्ष र तीन जना बरिष्ठ नेता रहने गरी पार्टी दर्ता भएको जानकारी दिए। सुरूमा पार्टीमा एक जना संघीय परिषद् अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष हुने छलफल भएको थियो।त्यसो हुँदा समाजवादी पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ पार्टीको पनि संघीय परिषद अध्यक्ष हुने थिए। समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि निर्वाचन आयोग परिसरमा संघीय परिषद् अध्यक्ष बरियतामा पहिलो नम्बरमा रहने प्रतिक्रिया दिएका थिए। तर पछि सार्वजनिक भएका कागजातमा बाबुराम पहिलो होइन चौथौं नम्बरमा रहेका छन्। राजपा नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्।निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिएको थियो। ‘तर उहाँले नै म दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उहाँको नाम मेटिएको हो,’ जसपाका gएक नेताले भने। अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ।