सेनाको हवाई अभ्यासले दर्जनौं उडान स्थगित, सयौं यात्रुलाई सास्ती

सेनाले सैनिक दिवसमा देखाउने हवाई प्रदर्शनको अभ्यासका कारण मंगलबार हवाई सेवा प्रभावित भयो। सयौं यात्रुले अनाहक सास्ती पाए।

सैनिक दिवस शुक्रबार शिवरात्रिको दिन पर्छ। सेनाको हवाई ‘रिहर्सल’ का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सर्वसाधारणको आउजाउ नै बिथोलिने गरी मंगलबार दुई घन्टा उडान-अवतरण बन्द गरेको थियो। सेनाको रिहर्सल दिउँसो पौने २ देखि पौने ४ बजेसम्म चल्यो।

यसबीच थुप्रै सर्वसाधारण यात्रु विमानस्थलमै अलपत्र परे। कतिपय यात्रु उडान स्थगनपछि घर फर्किन बाध्य भए। कतिपय जहाज आकाशमै ‘होल्ड’ हुँदा यात्रुहरूले मानसिक दबाब झेल्नुपर्यो।

दिनभरि कति उडान स्थगन भए र कति यात्रु प्रभावित भए भन्ने यकिन तथ्यांक काठमाडौं विमानस्थलले दिएको छैन। हामीले विभिन्न एयरलाइन्स प्रतिनिधिसँग गरेको कुराकानीका आधारमा करिब एक सय आन्तरिक उडान स्थगन भएका छन्। यसले काठमाडौं बाहिरबाट हुने ३० भन्दा बढी उडान पनि स्थगित भएको उनीहरूले बताए।

धेरै उडान गर्ने बुद्ध, यती र श्री एयरलाइन्सका अधिकांश गन्तव्यमा उडान स्थगन भए। भरतपुर, पोखरा, लुक्ला र सिमराका धेरै उडान स्थगन भएको ती कम्पनीले जनाएका छन्। रात्रिकालीन उडान सुविधा भएका विराटनगर, चन्द्रगढी, भैरहवा, जनकपुर र नेपालगन्जमा समेत उडान भएनन्।

स्थगन नभएका ठाउँमा पनि जहाज समयमा नउड्दा यात्रुलाई मर्का पर्यो। उनीहरू घन्टौं विमानस्थलमै कुरेर बसेका थिए। पोखरा विमानस्थलमा जहाज चढिसकेका यात्रुसमेत झरेर धावनमार्गमै घाम तापेर बसेको तस्बिर सार्वजनिक भएको थियो।

काठमाडौं विमानस्थलमा दैनिक २ सय ५० भन्दा बढी आन्तरिक उडान हुँदै आएका छन्। रात्रिकालीन उडान सुविधा भएका तराईका कतिपय विमानस्थलमा यो समाचार तयार पार्दासम्म उडान भइरहेका छन्।

आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय उडानहरू पनि ‘डाइभर्ट’ भएका छन्। विमानस्थलले आन्तरिकको तुलनामा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता दिने हुँदा स्थगन भने धेरै भएनन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation